neapl investment mega bank
  • गृहपृष्ठ
  • विभाजित माओवादीबीच एकता आवश्यक छ : अध्यक्ष दाहाल

विभाजित माओवादीबीच एकता आवश्यक छ : अध्यक्ष दाहाल

Feb 13th, 2022

काठमाडौँ, १ फागुन /रासस

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई सङ्घीय गणतन्त्रात्मक शासन प्रणालीमा ल्याउनु जनयुद्धकै योगदान रहेको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री प्रचण्डले धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित् गरिनु पनि जनयुद्धकै योगदान थियो भन्ने कुरामा दुईमत हुनै नसक्ने बताउनुभएको हो । २७औँ जनयुद्ध दिवसको अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनसुमदायमा शुभकामना व्यक्त गर्दै माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिमा जनयुद्धका उपलब्धि एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावनाअनुसार अगाडि बढ्न विशेष अनुरोधसमेत गर्नुभएको छ ।

दिवसको सन्दर्भमा अध्यक्ष प्रचण्डले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक/शुभचिन्तक आम जनसमुदायलाई एकताबद्ध भएर सबै खाले षड्यन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपिल गर्नुभएको छ । “देशी–विदेशी प्रतिक्रियावादी शक्ति जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेका छन्, छरिएर रहेका माओवादी घटकलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकताबद्ध हुन आग्रह गर्दछु । परिवर्तनका लागि लडेका शक्ति एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

नेपाली राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि मुक्तियुद्धका रूपमा स्थापित भइसकेको र जनयुद्धको जगमा सम्पन्न भएको २०६२/६३ को संयुक्त जनआन्दोलनपश्चात् मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको स्मरण गर्नुभयो । उहाँले दिवसको मनाउनुको सबैभन्दा ठूलो अर्थ, महत्व र औचित्य परिवर्नतकारी क्रान्तिकारी शक्तिबीचको एकता भएको विश्वाससहित पुनः एकपटक देशभित्र र बाहिर रहेका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र श्रमजीवी नेपाली जनसमुदायमा बधाई र शुभकामना व्यक्त गर्नुभएको छ ।