काठमाडौ, माघ २८
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र बढी लाभयुक्त बनाउन सरकार लागिपरेको बताएकाछन । मन्त्रालयमा आयोजित विकास समस्या समाधान समितिको वैठकमा मन्त्री श्रेष्ठले विकसित मुलुकहरुमा श्रम बजारको खोजी गरी सुरक्षित र लाभयुक्त वैदेशिक रोजगारीको अवसर वृद्धि गर्नुपर्ने बताए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकहरुको माग र आवश्यकता अनुरुप नेपाली श्रमिकको सीप विकास गर्न सके विप्रेषण दोब्बरले बढाउन सकिने बताए ।
नेपालको अर्थतन्त्र र जीविकामा निकै महत्व राख्ने विप्रेषण बढाउन प्रणालिगत सुधार आवश्यक रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । वैदेशिक रोजगारीमा जाने श्रमिक आपुर्तिको क्रममा रहेको लामो प्रकृयाका कारण वैदेशिक रोजगारीलाई बढी लाभयुक्त बनाउन नसकिएको उनको भनाइ छ । वैदेशिक रोजगारीबाट फर्केका जनशक्तिको पूँजी, सीप, दक्षता र अनुभवलाईउपयोग गर्नुपर्नेमा उनले जोड दिए । रोजगारीको ग्यारेन्टी सहित सीप विकास कार्यक्रम सातवटै प्रदेशमा विस्तार गर्ने आफ्नो योजना रहेको मन्त्री श्रेष्ठले बताए ।
उनले मन्त्रालय अन्तर्गतका आयोजनाहरुको भौतिक तथा वित्तिय प्रगतिमा सुधार गर्न गम्भीर भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । सेवाग्राहीलाई पारदर्शी र चुस्त सेवा प्रदान गर्न पनि उहाँले कर्मचारीहरुलाई निर्देशन दिए राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयालले औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउने र उत्पादनमूलक लगानीमा प्रोत्साहन गर्नुपर्ने बताए ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले नियमित अनुगमन, गुनासा सुनुवाई, उद्धार कार्यलाई प्रभावकारी बनाइएको बताए । सो क्रममा दोस्रो चौमासिकसम्म कल सेन्टर, हेलो सरकार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका गुनासो तथा उजुरीमध्ये ९७ दसमलव आठ प्रतिशत फछर्यौट गरिएको र दुई दसमलव दुई प्रतिशत फछर्योटको प्रकृयामा रहेको जानकारी दिइएको थियो ।