– रामबहादुर थापा
बागलुङ, २० मङ्सिर (रासस)
कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला शालिग्राम अब सङ्ग्रहालयमा देख्न पाइने भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ निर्माण गरिएको हो ।
सङ्ग्रहालयको आइतबार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलगायतबाट सामूहिक उद्घाटन हुँदैछ । छिटपुटबाहेक सङ्ग्रहालय निर्माणको काम सकिएको मन्दिरका अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताउनुभयो । झण्डै रु छ करोडको लागतमा एक वर्ष लगाएर सङ्ग्रहालय बनाइएको हो । शालिग्राम संरक्षणसँगै पर्यटन प्रवद्र्धनको उद्देश्यले सङ्ग्रहालय निर्माण गरिएको अध्यक्ष प्रपन्नाचार्यको भनाइ छ । निर्माण नसकिँदै आन्तरिक पर्यटक तथा दर्शनार्थीलाई सङ्ग्रहालयले आकर्षित गरेको थियो । सुरुङभित्र बनेका कारण पनि सङ्ग्रहालयप्रति चासो र अभिरुचि बढेको हो ।
सङ्ग्रहालयमा गण्डकी सभ्यताको प्रतिरूप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनीकक्ष बनाइएको छ । एक सय मिटर लामो सुरुङको प्रवेशद्वार नजिकै कृत्रिम भू–बनोटमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना देखाइएको छ । सङ्ग्रहालयमा मठमन्दिर, देवस्थल, हिमाल, नदीसँगै अन्य भौतिक संरचना निर्मित छन् । मुस्ताङमा पर्ने दामोदरकुण्ड कालीगण्डकी नदीको उद्गमस्थल हो ।
भौगोलिक नक्साअनुसारकै नमूना तयार पार्न नेपाली सेनाले सघाएको थियो । गण्डकी सभ्यता देखाउने नक्साङ्कनलाई सिसाले घेरिएको छ । “सिङ्गो गण्डकी सभ्यताको नमूना प्रतिरूप यसमा देख्न सकिन्छ”, अध्यक्ष प्रपन्नाचार्यले भन्नुभयो । त्रिशूल आकारमा रहेको सुरुङको बाँयापट्टि धार्मिक महत्वका एक लाख शालिग्राम सङ्ग्रहित छन् ।
चौध वर्ष लगाएर सङ्कलन गरिएका शालिग्राम सङ्ग्रहालयमा राखिएको अध्यक्ष प्रपन्नाचार्यको भनाइ छ । सङ्ग्रहालयमा मन्दिरका संस्थापक स्वामी श्रीधराचार्यको स्मृतिकक्ष पनि बनाइएको छ । उहाँको मूर्तिसँगै गण्डकी सभ्यताबारे उहाँले लेख्नुभएका पुस्तक, लेख, रचना र अन्य सामग्री उक्त कक्षमा रहेका छन् । भारत, चीन, पाकिस्तानलगायत देशमा रहेका प्रसिद्ध नदीका शिलाहरु पनि सङ्ग्रहालयमा राखिएको छ ।
समुद्री अवशेषहरुलाई पनि नमूनाका रूपमा देखाइएको छ । पाठपूजा, हवनजस्ता धार्मिक कार्यमा प्रयोग हुने परम्परागत सामग्री एवं उपकरण पनि सङ्ग्रह गरिएको छ । सुरुङको दायाँपट्टि ११२ जना अट्ने वृत्तचित्र प्रदर्शनीकक्ष निर्माण गरिएको छ । त्यहाँ गण्डकी सभ्यताको महिमा झल्काउने र गण्डकी सभ्यतामाथि पछिल्लो समय भइरहेको अतिक्रमण देखाउने वृत्तचित्र प्रदर्शन गरिनेछ ।
वृत्तचित्र भने आउँदो पुसभित्र तयार हुने अध्यक्ष प्रपन्नाचार्यले बताउनुभयो । अत्याधुनिक प्रविधिको प्रयोग गरेर भारतको बैङ्गलोर शहरमा वृत्तचित्र बनिरहेको उहाँको भनाइ छ । सुरुङको पछिल्लो भागमा ध्यानस्थल पनि बनाइएको छ । भक्तजन र पर्यटकलाई सङ्ग्रहालयभित्र एक÷डेढ घण्टा भुल्ने वातावरण बनेको छ ।
सङ्ग्रहालयमा बायाँपट्टिबाट प्रवेश गरी एक फन्को लगाएर बाहिर निस्कने व्यवस्था मिलाइएको छ । सङ्ग्रहालय घुमेको रु १०० शुल्क तोकिएको छ । विद्यार्थीले रु ५० को टिकटमा सङ्ग्रहालय घुम्न पाउनेछन् । उद्घाटनपछि औपचारिकरूपमा सर्वसाधारणका लागि सङ्ग्रहालय खुला हुने जनाइएको छ ।
सङ्ग्रहालय निर्माणका लागि गत आवमा गण्डकी प्रदेश सरकारले रु ८० लाख र बागलुङ नगरपालिकाले रु १० लाख बजेट छुट्याएको थियो । चालू आवमा कतैबाट पनि सरकारी बजेट नछुट्टिएको मन्दिर व्यवस्थापनको गुनासो छ । सङ्ग्रहालय निर्माणमा दाताहरुको ठूलो सहयोग छ । ऋण सहयोगसमेत जुटाइएको छ । सङ्ग्रहालयले जिल्लाको धार्मिक पर्यटनमा ठूलो टेवा पु¥याउने विश्वास लिइएको छ । प्राकृतिक र मानवीय अतिक्रमणका कारण लोपोन्मुख अवस्थामा पुगेको शालिग्रामलाई हिन्दू धर्म, संस्कारमा विष्णु भगवान्का रूपमा पुज्ने चलन छ । कालीगण्डकी ९पौराणिक नाम कृष्णागण्डकी० नदीमा पाइने शालिग्रामको दर्शन गर्नाले पुण्य मिल्ने जनविश्वास छ ।
सङ्ग्रहालय नजिकै निर्माणाधीन श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरको पनि ९५ प्रतिशत काम पूरा भएको छ । विसं २०४२ मा निर्मित मन्दिर जीर्ण बनेपछि नयाँ बनाइएको हो । प्यागोडा शैलीको मन्दिरमा श्रीराम अङ्कित कालीगण्डकी नदीका शिला ९ढुङ्गा० र सालको काठ प्रयोग गरिएको छ ।
सालको काठमा आर्कषक कला कुँदेर मन्दिरका टुँडाल, झ्यालढोका बनाइएको छ । प्राचीन नेपाली कला र शैली झल्कने गरी बनाइएको मन्दिरमा ६४ टुँडाल छन् भने तिनमा विभिन्न देवी, देवताका आकृति कुँदिएका छन् । मन्दिरमा भगवान् मुक्तिनाथ, श्रीरङ्गनाथ, श्रीवेङ्कटेशनाथ, श्रीदेवी, भूदेवी र नीलादेवीको मूर्ति रहने जनाइएको छ ।