आधारभूमि संवाददाता
काठमाडौ १३ माघ
सरकारले कोरोनाको तेस्रो लहर अगावै शुरु गरेको बुस्टर डोज अभियान पछि हालसम्म दुई लाख २३ हजार ९४४ जनाले बुस्टर डोज लगाइसकेका छन्। सरकारले फ्रन्टलाइनमा खटिने तथा अत्यावश्यक सेवामा कार्यरत नागरिकलाई निःशुल्क बुस्टर डोज दिइरहेको छ।
सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि नेपाल दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा परेको छ।
सरकारले आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको छ । हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ भने ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार माघ ११ गतेसम्म कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउने सङ्ख्या एक करोड ३१ लाख ६ हजार ७२६ पुगेको छ। त्यसमध्ये कोभिसिल्डको पूर्ण मात्रा लगाउनेको सङ्ख्या २९ लाख १७ हजार ३०४ छ भने भेरोसेलको पूर्णमात्रा लगाउनेको सङ्ख्या ७८ लाख २१ हजार ४०६ रहेको छ।
यस्तै २३ लाख २४ हजार ८०७ जनाले जोनसेनको पूर्णमात्रा लगाउँदा फाइजरको पूर्णमात्रा लगाउने ४३ हजार २०९ जना छन्। यसैगरी एक करोड ६३ लाख ३३ हजार ९३७ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्।
त्यसमध्ये कोभिसिल्ड ४५ लाख ३० हजार ७८७, भेरोसेल ९७ लाख ४६ हजार २७० र फाइजर दुई लाख ५९ हजार ९४० जनाले पहिलो मात्रा लगाएका छन्।
यस्तै १७ लाख ९६ हजार ९४० जनाले मोडर्नाको पहिलो मात्रा खोप लगाएका छन्। सरकारले सबै प्रदेशमा कोभिसिल्ड एस्ट्राजेनेका र सिनोफार्मका पहिलो तथा दोस्रो मात्रा खोप लगाइरहेको छ भने ५७ जिल्लामा मोडर्ना खोपको पहिलो मात्रा खोप दिइरहेको जनाएको छ।
प्रदेश १ मा हालसम्म १८ वर्षमाथिका ७५ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६० प्रतिशतले पूर्णमात्रा खोप प्राप्त गरेका छन्।
यसैगरी मधेस प्रदेशमा ६१ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ५३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। यसैगरी, बागमती प्रदेशमा ८६ प्रतिशतले पहिलो मात्रा तथा ८० प्रतिशतले पूर्णमात्रा, गण्डकी प्रदेशमा ८३ प्रतिशतले पहिलो मात्रा तथा ७९ प्रतिशतले पूर्ण मात्रा लगाएका छन्।
लुम्बिनी प्रदेशमा ७५ प्रतिशतले पहिलो मात्रा र ६५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने कर्णाली प्रदेशमा ५७ प्रतिशतले पहिलो मात्रा खोप प्राप्त गर्दा ५५ प्रतिशतले पूर्ण मात्रा र सुदूरपश्चिम प्रदेशमा ६४ प्रतिशतले पहिलो मात्रा खोप लगाउँदा ६२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्।