आधारभूमि संवाददाता
काठमाडौं १३ माघ
राष्ट्रिय सभाका १९ सिटको लागि बुधबार सम्पन्न निर्वाचनमा एमाललेले एक मात्र सिटमा चित्त बुझाउनु परेको छ । राष्ट्रिय सभाका १९ सिटमध्ये १८ सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
प्रदेश एकबाट एक सिटमा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भएका छन् । अपांगता वा अल्पसंख्यकतर्फको सो पदमा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका हुन्।
राष्ट्रिय सभाको बुधबार सम्पन्न निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए ।
सातै प्रदेशमा भएको मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्य थपिएका द्धा् । जसमा महिलाबाट ७, दलितबाट ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ र अन्य समूहबाट ७ जना सदस्य निर्वाचित भएका हुन्।
गण्डकी प्रदेशबाट गठबन्धनका ३ जनै उम्मेदवार विजयी भएका छन् । महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन् ।
वाग्मती प्रदेशमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भए । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरे र जनमोर्चाको तर्फबाट दलित उम्मेदवार तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका हुन् ।
यसैगरी कर्णालीबाट राष्ट्रिय सभामा गठबन्धनका तीनजनै उम्मेदवार विजयी भएका छन् । उनीहरुले एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् । निर्वाचनमा अन्यतर्फ उदय बोहोरा (एकीकृत समाजवादी), अपांग र आदिवासीतर्फ नरबहादुर विष्ट (माओवादी केन्द्र) र महिलातर्फ दुर्गाकुमारी गुरुङ (कांग्रेस) निर्वाचित भएका हुन् ।
त्यस्तै सुदूरपश्चिममा पनि गठबन्धनका उम्मेदवार नै विजयी भए । सुदूरपश्चिमबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार विजयी भए ।
महिलातर्फ नेकपा (एकीकृत समाजवादी) मदन कुमारी शाह ९गरिमा०, दलिततर्फ एकीकृत माओवादी केन्द्रका जगत पार्की र अन्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी भएका हुन् ।
मधेश प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका महम्मद खालिद सिद्धिकी निर्वाचित भएका छन् ।