neapl investment mega bank
  • गृहपृष्ठ
  • बैशाखमै स्थानीय चुनाव गर्नुपर्नेमा दलहरुको सहमती

बैशाखमै स्थानीय चुनाव गर्नुपर्नेमा दलहरुको सहमती

Jan 18th, 2022


आधारभूमि संवाददाता

काठमाडौँ ४ माघ

प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको छ ।

बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमती जनाएका छन् । सत्ता गठबन्धनद्वारा गठित सो समितिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार निर्वाचन प्रकृया पूरा गर्नुपर्नेमा सहमति जनाएका हुन् ।

स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । त्यसअघि आगामी वैशाख १४ र २२ गतेको मिति सिफारिस गरेको छ । मिति तोक्न ढिलाइ हुँदै आएको छ । समन्वय समिति र मन्त्रिपरिषद्को सिफारिस अनुसार चुनावको मिति तोक्ने तयारी गरेको बुझिएको छ ।

सरकार सञ्चालनमा सहयोग गर्न काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा काँग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन् । साथै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन् ।