neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • माघी पर्वले राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न योगदान गरिरहेको छ : राष्ट्रपति भण्डारी

माघी पर्वले राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न योगदान गरिरहेको छ : राष्ट्रपति भण्डारी

Jan 15th, 2022

काठमाडौँ, १ माघ /रासस
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे सङ्क्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लास पूर्वक मनाउने परम्परा रही आएको तथा थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइने प्रचलन रहेको उल्लेख गर्दे उहाँले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघी पर्वले योगदान गरिरहेको बताउनुभएको छ ।

साथै उहाँले कोभिड–१९ महामारीको वर्तमान अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आ–आफ्नो स्वास्थ्यको ख्याल गरी माघी मनाउन सबैमा आव्हान पनि गर्नुभएको छ ।

“सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ । हाम्रा धेरै पर्व यसै गरी प्रकृतिसँग अन्योन्याश्रितरूपले जोडिएका छन् । नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको हुनाले हाम्रा व्यवहार पनि प्रकृतिमैत्री र वातावरण संरक्षणउन्मुख हुनुपर्दछ भन्ने अन्तर्निहित सन्देशलाई हामीले आत्मसात् गर्नुपर्छ,” राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।

प्राचीन समयदेखि हस्तान्तरण भइ आएका सांस्कृतिक वैशिष्ट्य बोक्ने चाड पर्वले हाम्रो सामाजिक जीवनलाई उल्लासमय तुल्याएका, त्यसबाट हाम्रो राष्ट्रको मौलिक परिचय विश्वसामु स्थापित हुनुका साथै समुदायबीच सहिष्णुता र हार्दिकता अभिवृद्धि भइरहेको तथा हाम्रा पर्वले मुलुकको सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न उल्लेख्य योगदान गरेका उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

मगर समुदायमा आजको दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ भने पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नानपश्चात् पूजा अर्चना तथा घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता परिकार सेवन गर्ने परम्परा रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi