neapl investment mega bank
  • गृहपृष्ठ
  • अफगानिस्तानमा सहायता एजेन्सीका पाँचको हत्या, जापानी चिकित्सक मारिए

अफगानिस्तानमा सहायता एजेन्सीका पाँचको हत्या, जापानी चिकित्सक मारिए

Dec 4th, 2019

जलालावाद, १८ मङ्सिर (राससरसिन्ह्वा)

अफगानिस्तानको जलालावाद शहरमा एक सहायता समूहका पाँच जना कर्मचारीको गोली हानी हत्या गरिएको छ ।

उक्त हत्याकाण्डमा परी एकजना अन्तर्राष्ट्रिय सहायता समूहका कर्मचारी पनि सख्त घाइते भएका बताइएको छ । यस विषयको पूर्ण विवरण भने आएको छैन । एएफपीका अनुसार गोलीकाण्डमा जापानी चिकित्सक ७२ वर्षीय तेत्सु नाकामुराको हत्या भएको छ ।

अफगानिस्तानको पूर्व क्षेत्रमा पर्ने नान्गाहार प्रान्तको जलालावादमा सो हत्याकाण्ड भएको हो । उक्त शहरमा सवारी साधनमा यात्रा गरिरहेका उनीहरुमाथि आतंककारीहरुले गोली हानेका थिए ।

जलालावाद शहरमा यात्रामा रहेको उनीहरुको सवारी साधनमा आतंककारीले गोली चलाएका उक्त प्रान्तका प्रान्तीय प्रवक्ताले जानकारी दिएका छन् ।

नान्गाहार प्रान्तका प्रान्तीय प्रवक्ता अतुल्लाह खोग्यानीले दिएको जानकारीअनुसार उक्त सहायता समूहका कर्मचारी चढेको गाडीमा अज्ञात आतंककारी समूहका व्यक्तिहरुले गोली हानेका थिए ।

त्यस हमलाको बारेमा प्रहरीले अनुसन्धान थालेको प्रवक्ता खोग्यानीले जानकारी दनुभयो । उहाँले भन्नुभयो– बुधबार बिहान भएको यस हमलाको बारेमा अनुसन्धान थालिएको छ र यस विषयको थप सूचना जानकारी गराइने छ ।

अफगानिस्तानमा कृषि र सिंचाइका क्षेत्रमा काम गरिरहेको संस्था पिस मेडिकल सर्भिस नामको सो गैरसरकारी संस्थाको सवारीमाथि उक्त हमला भएको हो ।

सो संस्था अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको सहायतामा अफगानिस्तानमा सञ्चालनमा रहेको छ । उक्त संस्थाका निर्देशक गोली लागेर घाइते भएका छन् ।

मङ्गलबार मात्र पनि अफगानिस्तानको राजधानी काबुलबाट केही पूर्वतर्फ रहेको क्षेत्रमा अज्ञात बन्दुकधारीहरुले गोली हानी यहाँको गुप्तचर निकायका दुई अधिकारीको हत्या गरेका थिए ।

त्यस क्रममा गोली लागेर अरु पनि केही व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार सो क्षेत्रमा गत हप्ता पनि अरु केहीको हत्या गरिएको थियो ।

यी हत्याहरुको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूह या व्यक्तिले लिएका छैनन् । तर पनि अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानहरुले नै यस्तो हमला गर्ने गरेकोले यी पछिल्ला हत्यामा पनि तिनै समूहको नै हात रहेको अनुमान प्रहरीले गरेको छ ।