आधारभूमि संवाददाता
काठमाडौं, पुष २५
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले आठ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई ४-१ गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा रियल मड्रिडलाई जित करिम बेन्जेमा र जुनियर भिनिसियसले दुई दुई गोल गरे । भ्यालेन्सियाका गोन्कालो गुडेसले एक गोल गरे ।
खेलको ४३ औं मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफको ५२ औं मिनेटमा जुनियर भिनिसियसले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
खेलको ६१ औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।
खेलको ७६ औं मिनेटमा भ्यालेन्सियाका गोन्कालो गुडेसले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को फराकिलो जित दिलाए ।
जितसँगै रियलले २१ खेलबाट ४९ अंक जोडेको छ र शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ ।पराजित भ्यालेन्सियाको २० खेलबाट २८ अंक छ र नवौं स्थानमा छ ।