आधारभूमि संवाददाता
काठमाडौ, पुुस १९
इंग्लिस प्रिमियर लिग फुटबलमा सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुल चेल्सीसँग बराबरीमा रोकिएको छ ।आइतबार राति भएको खेलमा लिभरपुल र चेल्सीले २–२ गोलको बराबरी खेल्दै अंक बाँढेका हुन्।
स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीको लागि माटियो कोभासिच र क्रिश्चियन पुलिसिकले एक-एक गोल गरे भने लिभरपुलको साडियो माने र मोहमद सलाहले एक-एक गोल गरेका थिए।
खेलमा पहिलो अग्रता लिभरपुलले लिएको थियो । खेलको नवौं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।
खेलको २६ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-० ले अघि बढाए।
तर, खेलको ४२ औं मिनेटमा चेल्सीका माटियो कोभासिचले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयमा क्रिश्चियन पुलिसिकले गोल गर्दे खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।
बराबरीसँगै चेल्सीको २१ खेलबाट ४३ अंक छ र तालिकाको दोस्रो स्थानमा छ। लिभरपुलको २० खेलबाट ४२ अंक छ र तेस्रो स्थानमा छ ।