काठमाडौ, पुस १४
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सीमा नाकाबाट सहज रूपमा सामान आयात निर्यात हुने व्यवस्था गर्न चीनलाई आग्रह गरेकीछन ।चीनतर्फका तातोपानी र रसुवाको केरुङ नाकाबाट अझै पनि सामान आयात निर्यातमा कठिनाइ भएको व्यवसायीको गुनासो सम्बोधन गर्दै मन्त्री रेग्मीले आयात निर्यातमा कठिनाइ भोग्ने अवस्था अन्त्य गर्न आग्रह गरेकी हुन ।
मन्त्री रेग्मी चाइना फाउन्डेसन फर पोभर्टी एलिभेशन नेपालको छैटौँ वार्षिक उत्सव कार्यक्रममा बोलेकी थिईन । उनले चीनबाट भूकम्प, कोभिड जस्ता महामारीमा सहयोग गरेकोमा प्रशंसा गरिन । ‘दुख प¥यो भने हेर्ने छिमेकीले हो’,मन्त्री रेग्मीले भन्नुभयो,‘नाकाबन्दीको बेला नेपालले चीनबाट सहयोग पाएको छ ।’
उनले कोभिडको समयमा खोप प्रदान गरेर चीनले नेपाललाई गुण लगाएको बताईन । उनले अहिले पनि चीनबाट खोप आइरहेको उल्लेख गरिन । छिमेकी देशहरुबीच सहयोगको अपेक्षा हुने मन्त्री रेग्मीले बताईन । उनले यसैक्रममा सीमा नाकाबाट सहजरुपमा सामान भित्रन पाउनुपर्छ भन्नु भएको हो ।गरिबी निवारणसम्बन्धी नेपालमा रहेको चाइनिज फाउन्डेसनले गरेको कार्यक्रममा मन्त्री रेग्मीले फाउन्डेसनलाई परेको समस्या समाधानका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाईन । ‘केही समस्या पर्छ भने मन्त्रालयमा आउनुहोस’,मन्त्री रेग्मीले भन्नुभयो,‘सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध छ ।’