neapl investment mega bank
  • गृहपृष्ठ
  • के छ साढे २ घण्टा लगाएर वाचन गरेको प्रचण्डको राजनीतिक प्रतिवेदनमा ?

के छ साढे २ घण्टा लगाएर वाचन गरेको प्रचण्डको राजनीतिक प्रतिवेदनमा ?

Dec 28th, 2021


आधारभूमि संवाददाता

काठमाडौँ १३ पुस

नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि २५ वटा समूहले छलफल गरे ।

सो प्रतिवेदन प्रचण्डले साढे २ घण्टा भन्दा धेरै बेर लगाएर वाचन गरेका थिए । के छ त सो प्रतिवेदनमा ? के प्रतिवेदनले पार्टीका कमजोरी स्वीकार गरेको छ ?

‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा प्रस्तुत गरिएको प्रतिवेदन अध्ययन गर्दा प्रचण्डले शान्ति सम्झौता गरिएपछि आफू र पार्टीबाट भएको गल्तीलाई स्वीकार गरेको प्रष्ट हुन्छ ।

पार्टी एकता, अदालतको फैसला, एकता भंग हुनाको कारण, प्रचण्डपथ, पार्टी कमजोर हुनाको कारण सहित विश्व परिस्थिति, जलवायु परिवर्तन र आगामी कार्यदिशा लगायतका विषयमा राजनीतिक प्रतिवेदनमा व्याख्या गरिएको छ ।

राजनीतिक शक्तिहरूका बीचमा नयाँ प्रकारको ध्रुवीकरण र मोर्चाबन्दी सुरु भएको भएको भन्दै प्रचण्डले नेपाली जनमत आज पनि लोकतान्त्रिक संविधान, राष्ट्रिय स्वाधिनताका पक्षमा स्पष्ट रहेको तथ्य प्रतिगमन विरोधी आन्दोलनमा व्यापक जनसहभागिताले प्रष्ट गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रचण्डले प्रतिवेदनमा विभिन्न नाम र रुपका दक्षिणपन्थी शक्तिहरूका बीचमा मोर्चाबन्दी बढ्दो क्रममा रहेको उल्लेख गरेका छन् । देशको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थी मोर्चाबन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरूले मलजल गर्दै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेप बढाएर लगेको उनको दावी छ।

प्रचण्डले पार्टी कमजोर हुनाको कारणलाई यसरी अथ्र्याएका छन् केही वर्षदेखि आफूहरुको पार्टीमा देखा परेका वैचारिक र राजनीतिक अस्पष्टता, विभाजन, गुटबन्दी अराजकताका साथै शान्ति सम्झौतापछिका कतिपय राजनीतिक र संगठनात्मक कमजोरीसमेतका कारण परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न नसकेको बताउँदै उनले यसको परिणामस्वरुप दक्षिणपन्थी, प्रतिक्रियावादीशक्तिहरूले टाउको उठाउने मौका पाइरहेका छन् । यो विषयमा पार्टीले गम्भीरताका साथ समीक्षा गर्ने र तद्नुसार संगठन र कार्यशैलीको विकास गर्नुपर्ने आवश्यकता रहेको छ ।
भूमण्डलीकृत साम्राज्यवादका विशेषताहरू, सूचना प्रविधिमा भएको क्रान्तिको समग्र प्रभावका साथै आजको उत्पादन शक्ति र उत्पापदन सम्बन्धबारे आंकलन गरेर तथा आफ्नै आर्थिक, सामाजिक तथा राजनीतिक विकासको अवस्थालाई ठोस रुपमा विश्लेषण र संश्लेषण गरेर मात्रै पार्टीको राजनीतिक विचारमा स्पष्टता हासिल गर्न सकिने प्रचण्डको सुझाव छ ।