–विमल विष्ट
काठमाडौँ, पुस ११
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले विमानस्थलमा सुरक्षा र सरसफाइमा विषेश ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । विमानस्थलमा यात्रुहरुको चाप बढी हुने भएकाले यहाँका सौचालयदेखि अन्य क्षेत्रहरु सफा र चिटिक्क हुनु पर्ने मन्त्री आलेले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलमा यात्रुको चाप बढी हुन्छ, यहाँ आन्तरिक तथा बिदेशी पर्यटकहरु समेत आगमन गर्ने हुँदा सौचालयदेखि पसलहरु सफा राख्नुस, खानेकुरा पनि ताजा होस ।”
भारत भ्रमणबाट शुक्रबारनै स्वदेश फर्किनु भएका मन्त्री आलेले विमानस्थलमा रहेका एअर ट्रार्फिक कन्ट्रोल (एटिसी) टावर, रार्डर सिष्टमबाट कसरी हवाइ जहाँज उडेको जानकारी हुन्छ सो विषयमा जानकारी लिनु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रशाद गुरागाइँले बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलका बिभिन्न उपकरण बारे मन्त्री ज्युले जानकारी लिनु भयो, एअरक्राफ्टको सेफ्टी, कसरी सेफ तरीकाले जहाँज ल्याण्ड गरेका हुन्छन्, तल ग्राण्डबाट कसरी हेरेका हुन्छन सो विषयमा जानकारी लिनुभयो र विषेशगरी विमानस्थलमा आउने चरा धपाउने राडर जोड्न पनि आग्रह गर्नुभयो ।”
अहिले सम्म एटीसीको कन्ट्रोल रुपमै पुगेर अनुगमन तथा निरीक्षण गर्ने र उपकरणले गर्ने कामका वारेमा जानकारी लिने आले पहिलो मन्त्री रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन बिभागका निर्देशक तथा प्रबक्ता प्रेमनाथ ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो एटीसीको कन्ट्रोल रुपमै पुगेर अनुगमन तथा निरीक्षण गर्ने आले पहिलो मन्त्री ज्यु हुनुहुन्छ, उहाँको अनुगमनले हाम्रो काम गर्ने मनोबल समेत बढेको छ, सबै कर्मचारी खुशी भएका छौँ ।” मन्त्री आलेले करिब तीन घण्टा जती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनुगमन तथा निरीक्षण गर्नु भएको थियो । अनुगमनकै क्रममा मन्त्री आलेले विमानस्थलमा सञ्चालनमा रहेका सटल बस सेवाहरुको प्रभाबकारिता बारेपनि जानकारी लिनु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।