काठमाडौँ, २१ जेठ
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारमा जाने कामदारको उडान ठप्प पारिएको जिकिर गरे पनि वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या रोकिएको छैन ।
आफूहरुले सरकारसमक्ष राखेको माग पूरा नभएको भन्दै चरणबद्ध सङ्घर्षमा उत्रिएको सङ्घले गत शुक्रबारदेखि कामदारको उडान बन्द गरिएको बताए पनि साविककै सङ्ख्यामा युवा वैदेशिक रोजगारमा गइरहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक रोजगार विभागअन्तर्गतको श्रम कक्षले साविककै सङ्ख्यामा युवा वैदेशिक रोजगारीमा गएको जनाएको छ । व्यवसायीले उडान बन्द गरेको घोषणा गरे पनि दैनिक एक हजारको सङ्ख्यामा युवा रोजगारीका लागि गन्तव्य मुलुक प्रस्थान गरिरहेका छन् ।
श्रम कक्षका प्रमख बाबुराम घिमिरेले व्यवसायीको हडतालका कारण वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्यामा खासै कमी नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायीले भनेजस्तो कामदारको उठान ठप्पै भएको भन्ने होइन, यसअघिका दिनकै अनुपातमा युवा वैदेशिक रोजगारीमा गइरहेका छन् ।”
आज अपराह्न ३ बजेसम्म ३५० कामदार संस्थागत श्रम स्वीकृति लिएर उडेको उहाँले बताउनुभयो । त्यसैगरी सोमबार संस्थागत श्रम स्वीकृति लिएका ३२९ र व्यक्तिगत श्रम स्वीकृति लिएका ५७४ युवा विदेशिएका प्रमुख घिमिरेले जानकारी दिनुभयो । व्यवसायीको आन्दोलनका वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या केही कम देखिएको उहाँको भनाइ थियो । सोमबार र मङ्गलबार वैदेशिक रोजगारीमा जाने युवामा अधिकांश मलेसियाका लागि ‘कलिङ भिषा’ पाइसकेका कामदार रहेका छन् ।
सङ्घमा आबद्ध व्यवसायीले यही जेठ ३ गते बृहत् भेलामार्फत् निर्णय नै गरेर छबुँदे माग सम्बोधन नभए जेठ १७ देखि २३ गतेसम्म वैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने निर्णय गरेका थिए ।
सङ्घले इजाजत लिन राख्ने धरौटी रकमको ब्याज पाउने व्यवस्था गर्न, मर्जर हुने संस्थालाई उपयुक्त छुट, सुविधा र सहुलियत दिन, मन्त्रालयमा सूचीकृत मेडिकल संस्थामार्फत् मलेसियामा नेपाली कामदार पठाउने व्यवस्था गर्नुपर्नेलगायत माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।रासस