बलेवा, ६ पुस /रासस
हातमा मखमली र सयपत्री फूलका माला । पञ्चपालामा अबिरको टीका । लामबद्ध बसेका मिलिजुली आमा समूहका सदस्य । मगर पोशाकमा सजिएका महिलामा नत कुनै आडम्बर न कुनै तडकभडक । सबैको एउटै चाहना हुन्छ यहाँ आउने पाहुनाको चित्त नदुखोस् ।
गाउँले मिलेर घरबास चलाएका छन् । घरबासमा आउने पाहुनालाई स्वागत र सत्कार गर्ने उनीहरुको आफ्नै तरिका छ । बागलुङ नगरपालिका– १० भकुण्डे सुन्दरगाउँ । मगर समुदायको बसोबास रहेको यो गाउँको नजिकै हिरा ताल छ । वर्षामा भरिभराउ हुने हिराताल हिउँदमा भने सुख्खा हुन्छ । डाँडामा रहेको ताल वरिपरी सडक बनेपछि सुक्न थालेको हो । हिरातालको छेवैमा रहेको ठूलो चौरमा पर्यटक पुग्दा सिङ्गारिएजस्तै देखिन्छ ।
भकुण्डे घुम्न र घरबासमा बस्न पुग्ने पर्यटकको समूह जब लामबद्ध हुन्छ तब देखिन्छ घरबासको संस्कार । भकुण्डेमा रहेको ‘अतिथि सत्कार सामुदायिक होमस्टे’ जिल्लाकै नमूना घरबास हो । पहिलो घरबास भएकाले यहाँको सिको गर्दै जिल्लामा तीन दर्जनभन्दा धेरै घरबास खुलेका छन् ।
विसं २०७३ देखि यो सामुदायिक होमस्टे सञ्चालनमा आएको हो । यहाँका ११ घर मिलेर खोलेको यो घरबासमा पाँच वर्षदेखि निरन्तर पाहुना आइरहेका छन् । “बीचमा कोरोनाले केही असर ग¥यो, हामीले नै पाहुना राख्न सक्दैनौं भनेका थियौं”, घरबास सञ्चालक यामबहादुर थापा भन्नुहुन्छ, “अहिले ठूलो समूहमा आउने धेरै छन्, कोही घुम्नका लागि मात्रै आउनुहुन्छ, कोही यहाँको स्थानीय स्वाद लिन ।”
भकुण्डेको सबैभन्दा उच्च पहाडमा भ्यू–टावर निर्माण भएको छ । पुसको चिसोलाई बेवास्ता गर्दै बिहानै भ्यू–टावर पुग्ने हो भने ६ बजेको आसपासमा सूर्योदयको दृश्य देखिन्छ । चिसो याममा बिहानमा तुसारोले सेताम्मे देखिने बारीका पाटा गर्मीयाममा हरियो खेतीबालीले भरिभराउ हुन्छन् ।
यहाँबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे«लगायतको दर्जनौं हिमचुली देखिन्छ । भकुण्डे गाउँ नजिकै जङ्गल छ । यहाँ गाउँमै मृग र कालीज आउछन् । बागलुङ बजार नजिकैको अतिथि सत्कार होमस्टेमा स्थानीय परिकार पाक्छ । ‘कोदोको सेलरोटी, स्थानीय कुखुरा र खसी, मुलाको अचार, हाम्रै बारीको मकै मुख्य खाना हुन्”, थापाले भन्नुभयो, “बाँको र मुलाको गुन्द्रुक, मुलाको धजरा र आलु कोसेली पठाउन सकिन्छ ।”
भ्यू–टावर, जनजाति सङ्ग्रहालय र गाउँको पुछारमा रहेको बराहताल र मन्दिर यहाँ पुग्ने आन्तरिक पर्यटकले रुचाउने क्षेत्र हुन् । यानीमायाँ, सुनीमायाजस्त गीत र नृत्य पाहुनाको मागअनुसार साँझ पस्किने यहाँका आमा समूहलाई पुरुषले पनि साथ दिन्छन् । भकुण्डे क्षेत्र ८५० देखि दुई हजार ३५० मिटरसम्मको उचाइमा छ । घुम्नका लागि मात्रै पुग्ने पर्यटकले पनि यहाँ एक दुई रात बिताउने गरेको अनुभव सञ्चालकको छ ।
“सिरेटोले कानको छेउछाउ सेकाउदा पनि यहाँको आत्मियता भुल्न नसकिने खालको छ”, भकुण्डे पुगेका सिगानाका शिक्षक पवन खड्काले भन्नुभयो,“मोहित बनायो भकुण्डेले ।” सदरमुकाम बागलुङ बजारको नजिकै रहेर पनि भकुण्डेमा ग्रामीण जीवनशैली छ । घरमा आएका पाहुनालाई आफ्नै ठान्ने घरबास सञ्चालक पाहुनासँगै रमाउँछन् ।
हिउँदमा खुलेको हिमाल हेर्न र वर्षामा गर्मी छल्नका लागि भकुण्डे पुग्न सकिन्छ । भकुण्डेबाट देखिने बागलुङ बजार, बागलुङ कालिका, पञ्चकोट, दक्षिणका गाउँ, रायडाँडाको बुद्ध गुम्बा, राङ्खानीको हाँडीकोट, पर्वतको पाङ् खुर्कोट, फलेवासलगायतका ठाउँले मोहित बनाउछन् ।