neapl investment mega bank
  • गृहपृष्ठ
  • यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय

Dec 17th, 2021

आधारभूमि संवाददाता

काठमाडौं २ पुस

सरकारले कोभिड – १९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो साथै बैठकले राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरि अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसैगरी मन्त्रीपरिषद्ले विनोदकुमार भट्टराईलाई नेपाल न्याय सेवा कानून समूहको राजपत्रांकित प्रथम श्रेणी र रामप्यारी सुनुवारलाई नेपाल न्याय सेवा न्याय समूहको राजपत्रांकित प्रथम श्रेणीको पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

कार्कीका अनुसार सरकारले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी नेपाली नागरिकताबाट हटाउने निर्णय गरेको छ ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगको सिफारिस बमोजिम पूर्णप्रसाद पौडेलसहित २९ जना व्यक्तिहरुलाई २३ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने, भारतीय सशस्त्र सिमा बलको १८ औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाललाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता कार्कीले वताए ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गरिबी निवारण कोष अभिलेख व्यवस्थापन कार्यक्रम कार्यान्वयनका लागि पाँच जना अधिकृतहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको उनले जनाए ।

भोटेओडार आँखा उपचार केन्द्र सुन्दर बजार लमजुङलाई भवन निर्माण गर्न एक रोपनी जग्गा लिज उपलब्ध गराउन स्वीकृति दिने र राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तीको लागि डा। दामोदर रेग्मीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय भएको जानकारी दिए।

यसैगरी मन्त्रिपरिषद्ले नेपाली सेना सैनिक प्राविधिक सेवाका सहायक रथी हेगेन्द्रलाल महर्जन र महासेनानी खुमबहादुर कुँवर क्षेत्रीको पदावधि थप गर्ने, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको पहिलो संशोधन गठन आदेश २०७८ स्वीकृत गर्ने, नेपाली सेनाका सहायक रथी डा. अरुणकुमार न्यौपाने तथा चार सैनीक अधिकृतको बढुवा गर्ने तथा सहायक रथी सागरबहादुर केसीलाई अवकाशपूर्व उपरथी दर्जा मानार्थ बढुवा र महासेनानी खगेश्वर अर्यालको अवकाशपूर्व विशेष बढुवा गर्ने निर्णय गरेको छ ।

साथसाथै नेपाली सेनाका विभिन्न समुहका रथी, सहायक रथी र महासेनानीहरुको सरुवा गर्ने निर्णय पनि भएको प्रवक्ता कार्कीले जानकारी दिए।