आधारभूमि संवाददाता
काठमाडौँ १९ मंसिर
नेपाली काँग्रेसको मङ्सिर १७ देखि जारी प्रदेश अधिवेशन अन्तरगत केही स्थानमा अधिवेशन हुन बाँकी छ भने कुनै स्थानको मतपरिणाम आइसकेको छ । हालसम्म १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ भने ३ स्थानको मतपरिणाम आइसकेको छ ।
पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो । कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदैछ ।
कांग्रेस महाधिवेशनका लागि ६३ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । यस्तै सात प्रदेशमध्ये छ प्रदेशको अधिवेशन सुरु भइसकेको र केही प्रदेशको नतिजासमेत आइसकेको कांग्रेसले जनाएको छ । प्रदेश नं २ बाहेक सबै प्रदेशको अधिवेशन प्रारम्भ भइसकेको छ ।
हालसम्मको मत परिणाम अनुसार नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा देउवा पक्षका वीरबहादुर बलायरको विजयी भएका छन् ।
त्यस्तै कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन् । उनलाई निकटतम प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीलाई ९१ मतान्तरले पराजित गरेका हुन् । ललितजंगले ४ सय २२ मत ल्याए भने भूपेन्द्रले ३ सय ७१ मत ल्याएका छन् ।
यसैगरी गण्डकीमा पौडेल पक्ष विजयी भएको छ । प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्।
गण्डकीमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्मा सभापति पदमा निर्वाचित भएका हुन्। शर्माका निकटतम प्रतिद्वन्द्वी सभापति शेरबहादुर देउवा समूहका अर्जुन जोशी पराजित भएका छन् ।
प्रदेश १ र लुम्बिनीमा भने मतगणना जारी छ । शनिबार भएको मतदानमा प्रदेश १ मा १७५२ मत खसेको थियो । प्रदेशमा १८०४ मतदाता रहेका थिए । प्रदेश १ मा संस्थापन समूहका उद्धव थापा र इतर समूहका गुरुराज घिमिरेबीच प्रतिस्पर्धा भएको छ ।
यता बागमतीमा भने बहुमत आउन नसक्दा आज फेरी मतदान हुने वताइएको छ ।पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये इन्द्रबहादुर बानियाँले ४८ प्रतिशत मात्रै मत ल्याएपछि दोस्रो चरणको मतदान हुन लागेको हो ।