neapl investment mega bank
  • गृहपृष्ठ
  • ‘हाम्रो बर्मा : हाम्रो कर्म’ नामक कृति सार्वजनिक

‘हाम्रो बर्मा : हाम्रो कर्म’ नामक कृति सार्वजनिक

Dec 3rd, 2019

काठमाडौँ, १७ मङ्सिर (रासस)

समाजसेवी नन्दराज न्यौपानेको ‘हाम्रो बर्माः हाम्रो कर्म’ नामक आत्मकथा सार्वजनिक भएको छ । नेपाल–म्यान्मामैत्री सङ्घले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा नेपालका प्रथम गर्भनर हिमालयशम्शेर जबराले सो कृति सार्वजनिक गर्नुभयो ।

सो अवसरमा उहाँले समाजसेवी न्यौपानेले म्यान्मामा नेपालको कला, संस्कृति र भाषालाई संरक्षण गर्नुका साथै नेपालीको हितमा महत्वपूर्ण काम गरेको स्मरण गर्नुभयो । गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाली जुन देशमा गएको भए पनि आफ्नो पहिचान बनाएर काम गरेको अनुभव सुनाउँदै बर्माको नागरिक भएर पनि नेपाली भाषा, संस्कृतिको जर्गेनामा न्यौपानेको महत्वपूर्ण योगदान रहेको सुनाउनुभयो ।

समाजसेवी न्यौपानेले डेढसय वर्षअघि गुल्मी जिल्लाबाट आफ्ना पुर्खा तत्कालीन बर्मामा गएको जानकारी दिँदै आफूले पुर्खाको भाषा, संस्कृति र परम्परालाई संरक्षण गर्ने काम गरेको बताउनुभयो । उहाँले त्यहाँको विद्यालय छुट्टी भएको तीन महिना समयमा अनिवार्य रुपमा नेपाली पढाउनुपर्ने व्यवस्था गरेको र पढाउन नसक्नेका लागि नेपाली मूलका व्यक्तिहरुले नै पैसा उठाएर खर्च व्यहोर्ने गरेको जानकारी दिनुभयो । उहाँले बलिप्रथालाई कानुनी रुपमै रोक्ने व्यवस्था गरेको जानकारी दिनुभयो ।

कृतिका लेखक तथा सम्पादक रमेश खड्काले समाजसेवी न्यौपानेले नेपालीका लागि धर्मशाला, नेपाली कला, संस्कार र संस्कृतिको विकासमा निकै योगदान रहेको बताउनुभयो । म्यान्मामा दुई लाख नेपाली मूलका नागरिक रहेका छन् । त्यहाँका नेपालीले नेपाली भाषामा बोल्ने, नेपाली चाडपर्वअनुसार मठमन्दिरमा गएर पूजा गर्ने गर्दछन् । त्यहाँ तीन वटा संस्कृत विद्यालय र तीन वटा धर्मशाला तथा ३०० वटा मठमन्दिर छन् ।

चौरासी वर्षीय समाजसेवी न्यौपानेले म्यान्मामा बस्ने नेपाली र त्यो देशको विकासमा ठूलो योगदान दिनुभएवापत त्यहाँको सरकारको सर्वोत्कृष्ट नागरिक उपाधि ‘अग्रमहा श्रीसुधम्ममणि ज्योतिधर’ तथा तीन पटक राष्ट्रिय सम्मानसमेत गरेको छ । कार्यक्रममा ‘बर्माको कर्मयोगी’ नामक वृत्तचित्र प्रस्तुत गरिएको थियो ।