अनिष अधिकारी
हेटौडा, मंसिर १५
युवा भन्ने बित्तिकै हामी जोशिलो, फुर्तिलो र उर्जाशील व्यक्तित्वको कल्पना गर्दछौं । अन्तराष्ट्रिय परिभाषा अनुसार युवा भनेको पन्ध्र देखि पच्चीस वर्षसम्मका उमेर समूहका नागरिकलाई जनाउने गर्दछ । नेपालमा राष्ट्रिय युवा निति अनुसार युवा भनेको १६ देखि ४० वर्ष उमेर समूहका नागरिक हुन् । तर नेपाली समाजले युवाको परिभाषा अलि फरक दिएको छ । नेपाली समाजले युवालाई अल्लारे, उरन्ठ्यौला, उत्ताउला, जस्ता घोचिला शब्दहरुले परिभाषित गरेको छ । हाम्रो देशको अवस्था हेर्ने हो भने युवाहरुलाई राष्ट्रिय वा अन्तराष्ट्रिय परिभाषा भन्दा पनि नेपाली समाजले गरेको परिभाषालाई धेरै मान्यता दिएको पाईन्छ जसको परिणाम स्वरुप आज धेरै युवाहरु परदेशमा अवसरको लागि भौतारी रहेको र नेपालमा रहेका धेरै युवाहरु कुनै नेतृत्व तहमा आउन सकेका छैनन् र कतिपय युवाहरु झण्डा र झोला बोक्न मात्रै सिमित रहेका छन् ।
हामीले सुन्दै आएको कुरा, युवा भनेको भविष्यका कर्णधार हुन् जुन सुन्दा हामीलाई हौसला प्रदान हुन्छ र केही गरौं भन्ने उमंग जाग्छ तर युवाको जोश जाँगर त्यसै मरेर जान्छ किनकि यो देश त हाम्रो समाजले दिएको परिभाषाले न चलेको छ ।
युवाहरुलाई नेतृत्व तहमा ल्याउने, युवाको नेतृत्व विकास गर्ने, अवसर प्रदान गर्ने जस्ता कुरा हामीले विभिन्न राजनितिक दलका नेताहरुको भाषणबाट सुन्दै आईरहेका छौं तर के साच्चै भाषणमा भनिएको जस्तो युवाहरु नेतृत्व तहमा छन् त? हालसम्म नेपालमा ९५ राजनितिक दलहरु रहेका छन् जसमध्ये नेतृत्व तहमा युवा रहेको दलहरु गन्नको लागी हामीलाई मुस्किल पर्दैन । युवा तथा विद्यार्थीको नेतृत्व गर्ने युवावर्गका नेताहरुलाई आफुले समर्थन वा दिनरात खटेर काम गरेको राजनिति दलको नेतृत्व तहमा पुग्न दशकौं भन्दा बढि समय लाग्छ । युवा तथा विद्यार्थीको मर्म बुझेका युवा नेताहरु परिपक्क भएता पनि उनीहरुलाई उल्लारे, उराउठ्यौला नजरले हेरिन्छ कारण उनीहरु युवा हुन् । युवा नेताहरुले समाजमा विद्यार्थी, युवा तथा अन्य व्यक्तिहरुसँग प्रत्यक्षरुपमा काम गरेर कमाएको दशकौैंको अनुभव नेपाली समाजको मर्म नबुझेका व्यपारी वा धनाढ्य मानिसहरुको अगाडि काम नलाग्ने भईदिन्छ । राजनितिक दलको नेतृत्वमा आउन युवाहरुलाई दशकौंको अनुभवले काम गर्दैन तर कुनै व्यपारी वा धनाढ्य व्यक्ति सजिलै जुनसुकै बेला नेतृत्व तहमा आउन सक्छ ।
राजनितिक दलको यो परम्पराले गर्दा युवाहरुको नेतृत्व विकासको कुरा भाषणमै मात्रै सिमित रहेको देख्न सकिन्छ जसकारण युवालाई झण्डा र झोला बोक्ने स्तर सम्म मात्रै सिमित राखिएको छ । हामीले देख्न सक्छौं, कुनै पनि राजनितिक दलको समारोह हुँदा युवा जतिनै सुकै योग्य, जतिसुकै भाषण गर्न योग्य भएपनि युवालाई स्वयंमसेवक बनाएर झण्डा, झोला बोकाउने काममा मात्रै सिमित राखिन्छ अनि कार्यक्रम संचालन तथा भाषण गर्ने जस्ता काम युवाको नेतृत्व विकास गर्ने भाषण गर्न खप्पिस आफुलाई युवा मान्ने नेताले गर्ने गरेको देख्न सकिन्छ । के भाषणमा भनेजस्तै युवाको नेतृत्व विकास झोला र झण्डा मात्रै बोकेर हुन सक्छ?
नेपालमा ९०० भन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु रहेका छन् जसमध्ये युवाको अधिकार, नेतृत्व, अवसर र निर्णय गर्ने क्षमताको विकास लागी काम गर्ने धेरै रहेका छन् । तर के यस्ता संस्थाहरु साच्चिकै युवाको अधिकार, नेतृत्व र अवसरको लागी लडिरहेका छन्? वा उनीहरुको काम कागजमा मात्रै सिमित रहेको छ भन्ने ठूलो प्रश्न युवाहरुमा उब्जीएको छ । युवाको अधिकार, नेतृत्व विकास, अवसर प्रदान र निर्णायक भूमीका लागी लडिरहेका कतिपय राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको नेतृत्व तह वा निर्णायक भूमीकामा युवाको सहभागीता नरहेको पाइन्छ । हामी कतिपय राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको कार्यक्रममा युवाहरुलाई युवा अधिकार, अवसर र नेतृत्वको कार्यक्रम भनेर व्यानर बोकाएर ¥यालिमा सहभागी गराएको देख्न सक्छौं तर युवाको अधिकार, नेतृत्व, अवसर र निर्णायक भूमीकाको कुरा एकदिन ब्यानर बोक्दैमा मात्रै हुन्छ र?
नेपाल सरकारले युवाको अवसर, अधिकार, नेतृत्व विकास र निर्णायक क्षमताको विकास तर्फ लक्षित गरेर हरेक वर्ष विभिन्न युवा लक्षित कार्यक्रमहरु संचालन गर्ने गरेको पाईन्छ । सरकारले ल्याएका कतिपय युवा लक्षित कार्यक्रमहरु त कागजमै मात्रै सिमित रहेको छ ।पिछडिएका युवा वर्गहरुलाई लक्षित गरेर ल्याएका कार्यक्रमहरु त्यस्ता युवाहरुसम्म पुग्नै पाउँदैन र पिछडिएका युवा वर्गकोे नक्कली प्रमाण जुटाएर पहुँचवालाहरुले हासिल गरेको उदाहरण हाम्रो समाजमा निकै छ ।
नेपालको परिवेश हेर्ने हो भने युवा अधिकार, युवालाई अवसर, युवाको नेतृत्व र युवाको निर्णायक भूमिका क्षमताको विकास जस्ता कुराहरु भाषण वा कागजमा मात्रै सिमित रहेको देख्न सकिन्छ । हामी युवालाई दिईएको अल्लारे, उरन्ठ्याउला, उत्ताउला जस्ता उपनाम जबसम्म हट्दैन तबसम्म युवा अगाडी बढ्न सक्दैन । युवाको क्षमताको विश्वास जबसम्म नेपाली समाजले गर्दैन तब सम्म युवा पछि नै परिरहन्छ । यदी साच्चिकै युवाको नेतृत्वको कुरा गर्ने हो भने नेपाली समाजले युवालाई परिभाषित गरेको परिभाषा परिवर्तन गर्न जरुरी छ । युवाको क्षमताको विश्वास नेपाली समाजले गर्ने हो भने आज हामी धेरै युवाहरुलाई परदेशीन बाट रोक्न सक्छौं र देश विकासको लागी हातेमालो गर्न सक्छौं । युवा लक्षित कार्यक्रम भाषणमा वा कागजमा मात्रै नभएर व्यवहारमा लागु गर्न सक्यौं भने अनि बन्नेछ समृद्ध नेपाल सुखी नेपाली ।