काठमाडौ, मंसिर १४
मेटलाइफ नेपालले लघुबीमा दावीका लागि नयाँ दावी व्यवस्थापन प्रणालीको शुरुवात गरेको छ । यस प्रणालीले ग्राहकहरूलाई छिटो भुक्तानी गर्न म्यानुअल दाबी प्रक्रियालाई प्रतिस्थापन गर्नेछ । नयाँ प्रणालीमा दावी आवश्यकता र डिस्चार्ज भौचरहरूका लागि स्वचालित इमेलहरूको व्यवस्थाका साथसाथै दावी पेश गर्न र भुक्तानीको समयलाई घटाउनका लागि स्वचालित दाबी मूल्याङ्कन जस्ता सुविधाहरू समावेश गरिएका छन् ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठका अनुसार मेटलाइफ आफ्ना ग्राहकहरूको थप आत्मविश्वासी भविष्य निर्माणमा मद्दत गर्न प्रतिबद्ध छ । साथै उनले दु्रतदाबी समाधान नै लघुबीमा ग्राहकहरूको प्राथमिकता रहेको र यसका लागि उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न मेटलाइफको नयाँ दाबी व्यवस्थापन प्रणाली कोशेढुङ्गा सावित हने बताए । लघुबीमा मार्फत सेवाविहीन समुदायलाई वित्तीय सुरक्षाप्रदान गर्न मेटलाइफ सन् २००९ मा लघवित्त संस्थाहरुसँग साझेदारी गर्ने नेपालको पहिलो बीमा कम्पनी हो । कम्पनीको ग्रामीण कर्जा बीमाले देशका ७७ जिल्ला भरिका लघुवित्त संस्था तथा सहकारीका ऋणीहरुलाई बीमा सुरक्षा प्रदान गर्दै आएको छ । ऋणीहरुको कर्जा चुक्ता क्षमातालाई प्रभाव पार्न सक्ने अप्रत्याशित घटनाहरूबाट जोगाउन बीमाले ऋणीहरुको बाँकी रहेको कर्जा चुक्ता गरि निजहरुको परिवारलाई थप आर्थिक सहयोग प्रदान गर्दछ ।
सन् २००९ भन्दा पहिले लघुवित्त संस्थाका ऋणीहरूको बीमा सुरक्षामा पहुँचका लागि कुनै औपचारिक माध्यम थिएन । मेटलाइफले स्वरोजगार र गरिबी निवारणमा सहयोग गर्ने उद्देश्यका साथ लघुवित्त उद्योगका विज्ञहरूसँग परामर्श गरि नेपालमा लघुविमा योजना शुरु गरेको थियो । तत्पश्चात मेटलाइफले यसको नियमित समिक्षा गरि प्रक्रियालाई सरल बनाउँदै, योजनाहरूको विकास र परिमार्जन गर्दै यसलाई अझ बढी ग्राहक केन्द्रित बनाउँदै आएको छ । मेटलाइफले हाल चौबिस लघुवित्त संस्थाहरूसँग साझेदार गरि आठ लाख ऋणीहरूको बीमा गरेको छ । हाल सम्म कम्पनीले करिब २४ हजार दावीहरू वापत एक अर्ब ३० करोड रुपैयाँ भूक्तान गरिसकेको छ ।
मेटलाइफ नेपालका सहायक उपाध्यक्ष तथा प्रमुखवितरण अधिकृत अरुण बहादुर बस्नेतको अनुसार यस प्रणालीको शुरुवातले दावीहरूको प्रशोधन समय उल्लेखिय रुपमा घटाउन मद्दत गर्नेछ किनकि यसमा दावी सारांश तयारी, डिस्चार्ज भाउचर तयारी र स्वीकृतिका लागि हातबाटै तथ्याँक भर्न र प्रशोधन गर्न आवश्यक पर्दैन । यसले लघु ग्राहकहरूलाई उनीहरूको कठिन समयमा राहत दिनको लागि छिटो भुक्तानी प्रेषण गर्न सक्षम गराउँछ । साथै उनले आफ्ना लघु ग्राहकहरूलाई समयमै सेवाप्रदान गर्न प्रणालीलाई सुधार गर्दै डिजिटल सेवामा लैजान निरन्तर काम गर्ने बताए ।
मेटलाइफ नेपालका बारेमा
मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।
मेटलाइफको बारेमा
मेटलाइफ ईन्क आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनीका माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरुलाई अघि सहज रुपमा अघि बढ्न विभिन्न बीमा योजनाहरु, वार्षिक योजनाहरु, कर्मचारी लाभ योजनाहरु तथा सम्पत्ति व्यवस्थापन योजनाहरु प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरु मध्ये एक हो । सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी बजारहरुमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिय, यूरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ ।