आधारभूमि संवाददाता
काठमाडौं, मंसिर ७
सेयर कारोबारीहरुलाई छोटो समयका लागि आवश्यक पर्ने ऋण लिन बैंकमा जानु नपरोस् भनेर ब्रोकरले नै ऋण दिन सक्ने गरि मार्जिन लेन्डिङ सम्वन्धि कार्यविधी बनेको चार वर्ष बित्दासम्म पनि यो खासै कार्यान्वयनमा आउन सकेको छैन ।
धितोपत्र ब्रोकरबाट ऋण लिएर लगानीकर्ताले सेयरमा लगानी गर्न सकून् भन्ने उद्देश्यले नियामक निकाय धितोपत्र बोर्डले २०७५ जेठमा यससम्बन्धी कार्यविधि जारी गरेको थियो । ‘मार्जिन कारोबार सुविधा कार्यविधि, २०७४’ नाम दिइएको उक्त कार्यविधि जारी भएको पनि ३ वर्षभन्दा बढी भइसकेको छ । तर लगानीकर्ताले अझै ब्रोकरबाट ऋण पाउन सकेका छैनन् ।
लगानीकर्ताबाट धितोका रुपमा आफूसँग संकलित सेयर बैंकमा धितो राखेर कर्जा लिने र सोही रकमबाट लगानीकर्तालाई मार्जिन कारोबार सुविधा दिने ब्रोकरहरूको माग थियो । तर, कार्यविधिमा लगानीकर्तालाई ऋण दिन ब्रोकर आफैंले रकम व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । जसका कारण यो प्रभावकारी हुन सकेको छैन ।
विश्व बजारमा प्रायः सबै मुलुक र दक्षिण एसियाली सहयोग संगठन (सार्क) मा श्रीलंका बाहेक सबै राष्ट्रमा सेयरमा लगानी गर्नका लागि सेयर धितो राखेर बैंकबाट कर्जा लिन पाइँदैन । अन्तर्राष्ट्रिय अभ्यासविपरीत बैंकमार्फत मार्जिन कारोबार (लेन्डिङ) सेवा प्रदान गरिएको छ ।
कर्जाका लागि बैंकमा मात्र निर्भर रहँदा अहिले बजारमा तरलता अभाव भएको छ।
नेपालमा ब्रोकरले मार्जिन कारोबार सेवा प्रदान गर्ने नीतिगत व्यवस्था २०७४ मै भएको हो । मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन २०७४ मार्फत नै २३ वटा ब्रोकरले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट कारोबार अनुमति र राष्ट्र बैंकबाट स्वीकृति पनि लिइसकेका छन् । तर उक्त व्यवस्था अझै कार्यान्वयनमा आएको छैन । सुरुमा एउटा ब्रोकरले एक जना लगानीकर्तालाई यस्तो सुविधा दिएको थियो । त्यसयता यो विषयमा कुनै प्रगति भएको छैन ।
ब्रोकरमार्फत लिएको कुल कर्जामध्ये बढीमा १० प्रतिशत मात्र एउटा कम्पनीमा लगाउनुपर्ने व्यवस्था छ । साथै मार्जिन लेन्डिङ सुविधाका लागि नेप्सेले छानेकोे कम्पनी हुनुपर्छ । यस्तै नीतिगत व्यवस्थाका कारण पनि यो कार्यान्वयनमा आउन नसकेको हो ।
अब यो समस्या समाधानका लागि राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से र ब्रोकरबीच छलफल गर्नुपर्छ ।