आधारभूमि संवाददाता
काठमाडौं, मंसिर ६
नेपाल राष्ट्र बैकको रिपोर्टले महंगी भन्दा तलब बढिले बढेको देखिन्छ । तर, बजारमा भने गरिबले जागिर गरेर भान्सा टार्नै मुस्कील हुन लागेको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार २०७८ असोजमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ४.९२ प्रतिशतले बढेको छ । जबकी अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ०.९२ प्रतिशतले बढेको थियो ।
यता २०७८ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत रहेको थियो । अर्थात गत वर्षको तुलनामा महंगीको बृद्धिदर माथि भएपनि तलबको बृद्धिरदरको तुलनामा यो न्युन हो ।
तर बजारमा तेल तरकारी र अन्य खाद्य पदार्थको भाउमा भएको मूल्यबृद्धिले गरिब तथा मध्यम आय भएकालाई दैनिक गुजारा गर्न नै मूस्किल भएको छ ।
असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यबृद्धि ३.६३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यबृद्धि ४.७२ प्रतिशत रहेको छ ।
२०७७ असोजको तुलनामा २०७८ असोजमा घ्यू तथा तेल, माछा तथा मासु, दाल तथा गेडागुडी, सुर्तीजन्य वस्तु र गैर–मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमश ३१.६८ प्रतिशत, ११.९३ प्रतिशत, १०.७१ प्रतिशत, १०.१२ प्रतिशत र ९.६३ प्रतिशत रहेको छ ।
असाृज महिनामा काठमाडौं उपत्यकामा ३.४८ प्रतिशत, तराईमा ४.०१ प्रतिशत, पहाडमा ५.६८ प्रतिशत र हिमालमा ३.१२ प्रतिशत मूल्यबृद्धि भएको देखिन्छ । २०७७ असोजमा यी क्षेत्रहरुमा क्रमशः ३.३५ प्रतिशत, ४.४६ प्रतिशत, ३.०३ प्रतिशत र ४.३९ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
२०७८ असोजमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.२६ प्रतिशत रहेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख गरेको छ ।