neapl investment mega bank
  • गृहपृष्ठ
  • अमेरिकाको हिमालयन फाउन्डेसनले हेलम्बुका बाढीपीडितका लागि १० घर बनाउने सम्झौता

अमेरिकाको हिमालयन फाउन्डेसनले हेलम्बुका बाढीपीडितका लागि १० घर बनाउने सम्झौता

Nov 11th, 2021

काठमाडौ, कात्र्तिक २५

सामाजिक कार्यमा सक्रिय हिमालयन फाउन्डेसन कर्प न्युओर्क एण्ड क्यालिफोर्नियाले सिन्धुपाल्चोक जिल्लाको हेलम्बुका बाढीपीडितका लागि १० वटा घर निर्माण गर्ने भएको छ । काठमाडौं महानगर पालिकाकी उपमेयर हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा बुधबार हेलम्बु गाउँपालिका कार्यालयमा हेलम्बु गाउँपालीका अध्यक्ष नीमा ग्याल्जेन शेर्पा र हिमालयन फाउण्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठबीच घर निर्माण सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा मेलम्ची नगरपालीका वडा नं–७ का अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ,तामाङ को–अपरेसन सोसाइटी अफ क्यालिफोर्नीयाका अध्यक्ष शेरबहादुर लामा,प्रोफेसर प्रकाश खड्गी, चलचित्र पत्रकार संघका पूर्वउपाध्यक्ष लक्ष्मण सुवेदीलगायतका ब्यक्तित्वहरुको उपस्थिति थियो ।

‘अमेरिकामा बसे पनि आफ्नो गाउँघर सम्झीएर बाढी पीडितलाई सहयोग गर्न लाग्नु भएकोमा खुशी लाग्यो,’कार्यक्रममा उपमेयर खड्गीले भनिन्, ‘जो जहाँ रहे पनि एउटा नेपालीलाई दुःख पर्दा अर्काे नेपालीले सहयोग गर्नु निकै राम्रो कुरा हो । म पनि बाढी पीडितका लागि आफूले सके जति पहल गर्छु ।’ मेलम्ची खानेपानी योजनाको मुहान हेलम्बुमा रहेको र त्यहीबाट नै काठमाडौंमा पानी आउने भएकाले त्यहाँका पीडितलाई सबैले साथ दिनुपर्ने राय उनले राखिन् । सोही क्रममा उनले आफूले केही ब्यक्ति तथा संस्थालाई पीडितको बसोबासका लागि घर बनाउन आग्रह गरेबमोजीम त्यहाँ हाल २५ वटा घर बनिरहेको जानकारी दिइन् ।

हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाले गाउँपालिकासँगको सहकार्यमा हिमालयन फाउन्डेसन कर्पले बाढीपीडितका लागि घर बनाउने जमर्काे गरेकोमा खुशी ब्यक्त गरे । ‘हामीले जति सक्दो छिटो पीडितलाई राहत स्वरुप बसोबासको ब्यबस्था गर्नुपर्छ । त्यसका लागि म एकदम सक्रिय रुपमा लागीरहेको छु,’ उनले भने, ‘गाउँपालिकासँगको सहकार्यमा अन्य केही संस्थाले पनि त्यहाँ बसोबासको ब्यबस्था गर्दैछन् । यो क्रम अझ बढ्नु् पर्छ ।’ आफू सोही ठाउँमा जन्मे हुर्किएकाले सिन्धुपाल्चोकमा केही घटना हुदा निकै मन पोल्ने गरेको हिमालयन फाउन्डेसनका संस्थापक यज्ञलालले बताए । ‘हुन त हामी जुनसुकै ठाउँका नेपालीलाई समस्या पर्दा पनि सहयोग गर्न तयार छौ । यसअघि पनि सहयोग गर्दै आएका छौ । यसपालि भने हेलम्बुका बाढीपीडितको सहयोगार्थ अहिलेलाई १० वटा घर बनाउन लागेका छौ । यो कृया पछि अझ बढ्न सक्छ ।’ उनले उजाडिएको बस्तीलाई ब्यबस्थीत गर्न सबैले सहयोग गर्नु पर्ने धारणा राखे । उनले हेलम्बुमा घर निर्मााणको प्रकृया केही दिनभित्रै सुरु हुने समेत जानकारी दिए ।

गत असार र साउनमा आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँ पालीकाका थुप्रै वडामा ठूलो जनधनको क्षति भएको थियो । मेलम्ची र इन्द्रावती नदीको बाढीले त्यहाँका सयौं घर बगाएर उजाड बगर बनाएको छ । लेदोसहित आएको बाढीले त्यहाँ करोडौको क्षति पुर्याएको थियो । अहिलेसम्म पनि १६ जना स्थानीय हराइरहेको जानकारी पालिका अध्यक्ष शेर्पाले दिए ।