neapl investment mega bank
  • गृहपृष्ठ
  • लयमा फर्किन थाल्यो बन्दीपुरका होटल व्यवसाय

लयमा फर्किन थाल्यो बन्दीपुरका होटल व्यवसाय

Oct 28th, 2021

दमौली, ११ कात्तिक /रासस

कोभिड–१९ पछि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पहिलोपटक विदेशी पर्यटकको आगमन सुरुआत भएको छ । कोरोना त्रासका कारण विगत करिब दुई वर्षदेखि विदेशी पर्यटक आगमन शून्य रहेको बन्दीपुरमा बुधबार ६० विदेशी पर्यटक आइपुगेका हुन् ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले विदेशी पर्यटकको आगमनले व्यवसायीलाई उत्साहित बनाएको जानकारीदिनुभयो । “कोरोना त्रासपछि आन्तरिक पर्यटक आइरहेकामा विदेशी पर्यटक शून्य थिए, अब विदेशी पर्यटकको पनि आगमन हुनेमा आशावादी छौँ”, उहाँले भन्नुभयो । उहाँ अनुसार फ्रान्सका ती पर्यटक आज पनि बन्दीपुरमा छन् ।

दसैँको सुरुआतसँगै बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल पनि बाक्लिएको छ । कोरोना त्रास न्यूनीकरण हुँदै जनजीवन सामान्य भएपछि बन्दीपुरमा यतिबेला पर्यटकको चहलपहल बढेको उहाँले जानकारीदिनुभयो । “दसैँका बेला बन्दीपुरमा राम्रै सङ्ख्यामा पर्यटक भित्रिए, तिहारमा पनि पर्यटकको आगमन बढ्नेमा विश्वस्त छौँ”, होटल व्यवसायी प्रधानले भन्नुभयो, “विस्तारै पर्यटकीय गतिविधि बढेपछि व्यवसायीलाई पनि आशा जगाएको छ ।”

चिसो मौसम सुरु भएसँगै बन्दीपुरबाट हिमालका मनोरम दृश्य देखिन थालेको छ । हिमाल खुलेको बेला यहाँबाट हिमालका मनमोहक दृश्य देखिन्छ । सबैले कोभिडविरुद्ध खोप लगाएकाले पनि अहिले घुमफिरमा निस्कनेको सङ्ख्या बढिरहेको छ । “बन्दीपुरका ७० प्रतिशतभन्दा बढी व्यवसायीले खोप लगाइसके, सर्वसाधारणले पनि खोप लगाइरहेका छन्”, उहाँले भन्नुभयो, “खोपले पनि हामीलाई ढुक्क बनाएको छ ।”

होटल व्यवसायी वसन्त पौडेलले कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटन विस्तारै तङ्ग्रिने अवस्थामा रहेको बताउनुभयो । पर्यटकको चहलपहल सुरु भएसँगै व्यवसायीमा पनि आशा जागेको उहाँको भनाइ छ । बन्दीपुरका होटल व्यवसायीले छुट प्याकेजसमेत ल्याउने तयारी गरेका छन् । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना–ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रीनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ ।

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धवलागिरिलगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यका रूपमा विकास भइरहेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । अठारौँं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेका थिए । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुरानो घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउने निषेध गरेको छ ।

पर्यटक स्वागत गर्न आतुर छन् पदमार्गका होमस्टे
शुक्लागण्डकी नगरपालिका हुँदै स्याङ्जा जोडिने मिलेनियम ट्रे्क ९सहश्र्राब्दी मार्ग० विगत दुई वर्षदेखि सुनसान छ । गण्डकी प्रदेशको राजधानी पोखरा नजिक रहेका उक्त पदमार्ग कोरोना त्रासका कारण दुई वर्षदेखि सुनसान रहेको हो ।

कोरोना कहर न्यूनीकरण हुँदै जनजीवन सामान्य बनेपनि यो पदमार्गमा भने पर्यटकको चहलपहल बढ्न सकेको छैन । हिमाल हेर्दै पहाडी भूगोलमा पदयात्रा गर्न सकिने यहाँ पर्यटक आउन सकेका छैनन् । पोखराबाट सबैभन्दा नजिक तनहुँ र स्याङजा दुई जिल्लालाई जोडेको ७२ किलोमिटर दूरी रहेको पदमार्गका घरबास ९होमस्टे० सञ्चालक पर्यटक बाटो कुरिरहेका छन् । यस पदमार्गअन्तर्गत १७ गाउँमा घरबास सञ्चालन गरिएको छ । कोरोना सङ्क्रमण न्यूनीकरण भएकाले अब यहाँ पर्यटक आउने आशा गरिएको शुक्लागण्डकी नगरपालिका–१२ घरेडी सामुदायिक होमस्टेकी अध्यक्ष लक्ष्मी गुरुङले बताउनुभयो ।

“पहिला–पहिला पदयात्रामा पर्यटक आइरहन्थे, दुई वर्षदेखि पर्यटक आउन सकेनन्”, उहाँले भन्नुभयो, “अब त कोरोना पनि विस्तारै कम हुँदै गयो, पर्यटक आउनेमा आशावादी छाँै ।” आर्थिकस्तर उकास्ने उद्देश्यसहित सञ्चालन गरिएको होमस्टेमा पर्यटक नआउँदा आम्दानीको स्रोत पनि बन्द भएको उहाँको गुनासो छ ।

कोरोना त्रास सामान्य बनेकाले पदमार्गले पर्यटक पर्खिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताउनुभयो । “पछिल्लो समय अन्य पर्यटकीय गन्तव्यमा चहलपहल बढेपनि यहाँ भने पर्यटकको आगमन हुन सकेको छैन”, उहाँले भन्नुभयो, “पदमार्गमा पर्यटक भित्र्याउन प्रचारप्रसारको तयारीमा छाँै ।”

अध्यक्ष गुरुङका अनुसार पदयात्रीविहीन पदमार्ग केही ठाउँमा भत्किएको छ । अधिकांश जङ्गल क्षेत्रमा पर्ने पदमार्ग घाँसपातको झाडीले ढाकिएको छ । व्यवस्थापन समितिले दशाँै वर्ष पुरानो पदमार्गको नक्सालाई पुसभित्र सक्ने गरी अद्यावधिकको काम थालेको छ । उक्त पदमार्ग सन् २००० देखि सञ्चालनमा आएको हो । छ रात सात दिनको रुट रहेको पदमार्ग तनहुँको गाछेपानीबाट सुरु हुन्छ । तनहुँमा पृथ्वीराजमार्ग ९गाछेपानी०बाट सुरु भएको पदमार्ग स्याङ्जाको सिद्धार्थ राजमार्ग ९रामबाच्छा० पुगेर टुङ्गिन्छ । पदमार्गको सुरुआत विन्दुमा मिनी मुक्तिनाथको परिचय बनाएको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम छ । सेती नदीको पानीको बहावले कुँदेर बनाएको ढुङ्गे बगैँचा हुुँदै पदयात्री प्रसिद्ध धार्मिकस्थल ढोरवाराही मन्दिरको मन्दिरको दर्शनमा पुग्छन् ।

यसपछि उकालो चढेर रजस्थल होमस्टे हुँदै ऐतिहासिक ढोर मूलकोट दरबार घुम्छन् । ढोर लामागाउँ, घरेडीको मिलेनियम गुफा, राईपुरको जन्तेढुङ्गा तनहुँ खण्डका गन्तव्य हुन् । स्याङ्जातर्फ कोल्मा वराहचौर, बहाकोट, राङभाङ, पेल्काचौर, बानेथोक देउराली, माझकोट, शिवालय र मनकामना आसपासका पर्यटकीयस्थललाई पदमार्गले जोडेको छ । गाछेपानीबाट सुरु भएको पदमार्गको पहिलो दिन रजस्थल पुगेर बास बस्न सकिन्छ । दोस्रो दिन साँधी खोला, तेस्रो दिन पोखरीछाप, चौथो दिन चन्द्रकोट, पाँचौ दिन डाँडागाउँ, छैटौँ दिन सुन्तलाबारी होमस्टेमा बास हुन्छ । पदमार्गले तनहुँ र स्याङ्जाका साविकका १३ गाविसको ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक पक्षलाई समेटेको छ ।

हिमालका चुचुरा, हरियाली डाँडाकाडा, सूर्योदय र सूर्यास्तको मस्त दृश्य, नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर, चराचुरुङ्गी, जङ्गली जनावर र ग्रामीण परिवेशले पर्यटकलाई आकर्षित गर्छ । पदमार्गमा पर्ने बस्तीमा पर्यटकलाई कौराहा, सालैजो, झ्याउरे, झोर्रा, पेल्काचौरे ठाडो भाका, सोरठी, यानीमाया, घाटु, बालनलगायतका मौलिक लोक संस्कृतिले स्वागत गर्ने गरिन्छ ।

पदमार्गमा पर्ने बस्ती रित्तिन थालेपछि होमस्टे चलाउन मुस्किल देखेर मिलेनियम ट्रेक व्यवस्थापन समितिले तीन वर्ष अगाडि चार स्थानमा रिसोर्ट खोल्ने तयारी थालेको थियो । जिल्लाको मगरनाससहित स्याङ्जाको कोल्मा, पेल्काचौर र सिगारकोटमा रिसोर्ट सञ्चालन गर्ने भनिए पनि काम अगाडि बढेको छैन ।