आधारभूमि समाचारदाता
काठमाडौं,कात्तिक ९
बिप्रेषणमा आएको कमि, आयातमा भएको उच्च बृद्धि र बिदेश पढ्न जाने तथा घुम्न जानेहरुले रकम बढेसँगै मुलुकको सोधनान्तर घाटा उच्च भएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मुलुकको वित्तीय स्थिती सम्वन्धि प्रतिवेदनमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले कमी आई १ खर्ब ५५ अर्ब ३७ करोड कायम भएको उल्लेख गरिएको छ ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने उल्लेख्य रुपमा वृद्धि भई ३८ हजार ४ सय ९२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो ।
भ्रमण व्यय २ सय ४७.५ प्रतिशतले वृद्धि भई १० अर्ब २८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय ६ अर्ब ३७ करोड रहेको छ । अघिल्लो वर्षको भदौ महिनासम्म भ्रमण व्यय २ अर्ब ९६ करोड रहेकोमा शिक्षातर्फको व्यय २ अर्ब ५१ करोड मात्रै रहेको थियो ।
मुलुक भित्रिने रकमको तुलनामा बाहिरिने रकम बढि भएसँगै मुलुकको सोधनान्तर घाटा ८३ अर्ब ४१ करोडले घाटामा रहेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ भदौ मसान्तमा ७.७ प्रतिशतले कमी आई ११ खर्ब ४८ अर्ब ६९ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ भदौ मसान्तमा ५.२ प्रतिशतले कमी आई ११ अर्ब १४ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ भदौ मसान्तमा ७.७ प्रतिशतले कमी आई ११ खर्ब ४८ अर्ब ६९ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ भदौ मसान्तमा २.५ प्रतिशतले वृद्धि भई १ खर्ब ५८ अर्ब २७ करोड पुगेको छ । २०७८ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।
मुलुकसँग रहेको सञ्चितीले ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।