काठमाडौ, कात्र्तिक ८
मुलुकको निर्यात व्यापार बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार देशको बर्तमान स्थिती सम्वन्धी दोस्रो महिनाको प्रतिवेदन अनुसार मुुलुकको निर्यात व्यापार बढेको हो । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा कुल वस्तु निर्यात एक सय १५ दसमलव चार प्रतिशतले वृद्धि भई ४४ अर्ब ४ करोड पुगेको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० दसमलव पाँच प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय ५० दसमलव सात प्रतिशत, २० दसमलव सात प्रतिशत र ३१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, आयुर्वेदिक औषधी, तार, जस्तापाता, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ ।
यसैगरी आर्थिक वर्ष २०७८÷७९ को दुई महिनामा कुल वस्तु आयात ७५ दसमलव नौ प्रतिशतले वृद्धि भई तीन खर्ब १४ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२ दसमलव एक प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५६ दसमलव सात प्रतिशत, ७६ दसमलव दुई प्रतिशत र एक सय ४१ दसमलव चार प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल, सुन, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, मोलासिस सुगर, दाल लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्पm कन्चनपुर, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm सबै भन्सार नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा कुल वस्तु व्यापार घाटा ७० दसमालव आठ प्रतिशतले वृद्धि भई दुई खर्ब ७० अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४ दसमलव नौ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दसमलव चार प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी ३६ अर्ब २७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा २१ अर्ब ४५ करोड बराबरको यस्तो आयात भएको थियो ।