काठमाडौ, असोज २६
लुम्बिनी प्रदेशको रुपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासी समूहबिचको झडपमा सशस्त्र प्रहरी बलले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमध्ये एक जनाको सनाखत हुन नसकेको र उपचारकै क्रममा मृत्यु भएका एक जना कपिलवस्तु जिल्ला बाणगङ्गा नपा–१० का ४८ वर्षिय रमेश परियार रहेको प्रहरीले जनाएको छ । मृतक परियारको छातीमा गोली लागेकाको र अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । त्यसैगरी शुद्धोधन गाउँपालिका–५ का ३८ वर्षीय वीरेन्द्रप्रसाद कुर्मी र नवलपरासी पूर्व स्थायी घर भइ हाल तिलोत्तमा नपा, शंकरनगर बस्ने १८ वर्षीय युजन कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इन्सेक रुपन्देही प्रतिनिधिका अनुसार औद्योगिक करिडोर क्षेत्रमा अतिक्रमण गर्न बसेका भनिएकाहरू र सुरक्षाकर्मीबिच झडप हुँदा सो घटना हुन पुगेको र प्रहरीले गोली चलाउँदा ५० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ४१ जनाको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भइरहेको छ । साथै, अन्य घाइते भएका १७ जना प्रहरी र २४ जना प्रदर्शनकारीमध्ये चार जना प्रहरीको स्वास्थ्य अवस्था गम्भीर भएका कारण थप उपचारका लागि काठमाडौँ ल्याइएको जनाइएको छ ।
घटनाको विस्तृत अध्ययन गर्न इन्सेकले बनाएको अध्ययन टोलीले आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने जानकारी गराएको छ । यसैगरी सुकुम्बासी बस्तिका नागरिकहरूसँगको मुठभेडमा भएको यस प्रकारको घटनाप्रति इन्सेकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।