neapl investment mega bank
  • गृहपृष्ठ
  • ३ बुँदे सहमति कार्यान्वयन गर्न विप्लवको माग, प्रधानमन्त्री देउवालाई बुझाए ज्ञापनपत्र

३ बुँदे सहमति कार्यान्वयन गर्न विप्लवको माग, प्रधानमन्त्री देउवालाई बुझाए ज्ञापनपत्र

Oct 4th, 2021


आधारभूमि संवाददाता

काठमाडौ, असोज १८

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बन्दी नेता कार्यकताहरू रिहा नहुदा र मुद्दा खारेज नहुँदा पार्टी, बन्दी नेता कार्यकर्ता तथा तिनका परिवारजनमा आक्रोश पैदा भएको वताएका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न खबरदारी गरेका छन् ।

सहमति कार्यान्वयन नगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बिदा भएको र वर्तमान सरकारलाई समेत सहमतिबारे स्मरण गराएको विप्लवले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

विप्लवले आगामी असोज २१ गते नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच ३ बुँदे सहमति भएको ६ महिना पुग्ने स्मरण गराएका छन् ।

ज्ञापनपत्रमा भनिएको छ ‘आजका मितिसम्म बन्दी नेता कार्यकताहरू रिहा नहुनु र मुद्दा खारेज नहुनुले हाम्रो पार्टी, बन्दी नेता कार्यकर्ताहरू, उहाँका परिवारजन र नेपाली जनतामा आक्रोश र चिन्ता पैदा भएको छ । यो विषयलाई गम्भीरताका साथ लिन जरुरी छ,’

साथै ३ बुँदे सहमतिको शुरूमै कार्यान्वयन गर्नुपर्ने विषय बन्दीको रिहाइ र मुद्दाको खारेजी भएको वताइएको छ । हाम्रो पार्टी ३ बुँदे सहमतिप्रति पूर्ण प्रतिबद्धतासहित अक्षरशः लागू गरिराखेको छ र गर्ने छ । आशंका, अविश्वास, मनोवैज्ञानिक दबाब र ढिलासुस्तीको कुनै गुञ्जायस छैन । यो राष्ट्रिय राजनीतिक मुद्दा हो । यसर्थ विषयको गम्भीरता र संवेदनशिलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्दा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्यसम्पादन गरी विषयको छिटोभन्दा छिटो निरूपणको अपेक्षा गर्दछौं ज्ञापनपत्रमा उल्ले्ख छ ।