neapl investment mega bank
  • गृहपृष्ठ
  • कर्मचारी प्रशासनमा चरम वेथिति, मापदण्ड विपरित धमाधम सरुवा

कर्मचारी प्रशासनमा चरम वेथिति, मापदण्ड विपरित धमाधम सरुवा

Oct 3rd, 2021


आधारभूमि संवाददाता
असोज १७ काठमाडौ

१० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरिएको छ । शुक्रबार गृहमन्त्रीस्तरीय बैठकले १० जिल्लाका सिडियोको सरुवा गर्ने निर्णय गरेको हो ।

सरकारले सहसचिव र सचिव गरी १६ जनालाई काज सरुवा गरी विभिन्न जिल्लामा पठाएको गृह मन्त्रालयले जनाएको छ। भोजपुरको प्रजिअमा कमलराज ढकाल, कास्कीमा जयनारायण आचार्य, लमजुङमा सुशिल वैद्य र डोटीको प्रमुख जिल्ला अधिकारीमा शंकरबहादुर बिष्टलाई सरुवा गरिएको हो।

यस्तै मुगुमा रोमबहादुर महत, मनाङमा रवीन्द्र प्रसाद आचार्य, डडेलधुरामा मोहनराज जोशी, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैशी र तेह्रथुमको प्रमुख जिल्ला अधिकारीमा अनोजकुमार घिमिरेलाई सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

सरकारले ३ महिना हुन लागिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन । तर कर्मचारी सरुवा भने तीव्र रुपले अघि बढेको छ । सरकारले निजामती कर्मचारी सरुवाको मापदण्डलाई समेत ख्याल नगरी मन्त्रालय र विभागका प्रमुख फेरेको छ। खासगरी शक्तिशाली, आर्थिक चलखेल हुने मन्त्रालय र विभागका कर्मचारीको सरुवा नियम विपरित भएको छ ।

संघिय मन्त्रालय स्रोतका अनुसार तीन दिनयता ४४ जना उपसचिवको सरुवा भएको छ । यसअघि गत भदौ २९ गते मन्त्रिपरिषद्ले एकै पटक ८५ सहसचिव सरुवा गरेको थियो । त्यस्तै मंगलबार थप ६ जना सहसचिवको तथा बिहीबार गृहका १५ जना उपसचिवको सरुवा गरिएको स्र्रोतले वतायो ।

कर्मचारीहरु नै सरुवा प्रति सन्तुष्ट छैनन् । ओली नेतृत्वको सरकारले कर्मचारी परिचालनमा गरेको बेथितिलाई देउवा सरकारले पनि निरन्तरता दिन खोजेको उनीहरुको भनाइ छ। अहिले जुन मन्त्रालय प्रधानमन्त्रीदेउवाको काँधमा छ पहिलो चरणमा उनकै मातहतमा रहेको राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रमुख फेरिएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग र पर्यटन विभागको महानिर्देशक पनि परिवर्तन भएका छन् ।