आधारभूमि संवाददाता
काठमाडौं भदौं ३०
नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट्सले मंगलबारदेखि इन्टरनेट बिना नै चल्ने वालेट सेवा सुरु गरेको छ । अहिले इनटरनेटको सहायतमा स्मार्ट फोनबाट चल्ने डिजिटल वालेट सञ्चालन भइरहेकामा डिजिटल पेमेन्ट्सले सामान्य खालका मोबाइलबाटै समेत बिजुली तथा पानीको महसुल मात्रै होइन कर समेत तिर्न सक्ने सेवा सुरुवात गरेको छ ।
अहिले सञ्चालनमा रहेका डिजिटल वालेटहरुबाट स्कुलको फि तिर्न होस् वा त इन्टरनेटको बिल तिर्नका लागि इन्टरनेटसँगै स्मार्टफोनको समेत जरुरी पर्छ । त्यसैले नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट्सले इन्टरनेटको सहायता बिना कि प्याड फोनबाटै पानीको महसुल , बिजुलीको बिल र कर समेत तिर्ने सेवा सञ्चालनमा ल्याएको छ ।
मोबाइल नेटवर्क भएको कुनैपनि स्थानबाट अहिले जसरी एउटा मोबाइबाट अर्काेमा ब्यालेन्स ट्रान्सफर गरिन्छ त्यसैगरि नै युएसएसडी कोडको सहायतामा बिल तिर्न सकिनेछ । तर, यस्तो वालेटमा पैसा भने अहिलेको रिचार्ज कार्डबाट भने राख्न मिल्दैन ।
तर टेलिकमले समयानुकुल सेवा विस्तार गर्न नसक्दा र व्यवस्थापनको कमजोरीका कारण गत तिन वर्षमा मात्रै नाफा १० अर्ब गुमाएको छ । बिस्तारित फोर जि सबै ठाउ नचल्ने समस्या त छदैछ त्यसका कर्मचारीले मर्मतका काम समयमै अघि नबढाउँदा टेलिकमको नाफा ओरालो लागेको हो ।
४ वर्ष अघिसम्म टेलिकमको नाफा प्रत्येक वर्ष बढ्दो क्रममा थियो । आर्थिक वर्ष २०७३/०७४ मा १५ अर्ब ३७ करोड नाफा कमाएको टेलिकमले लगत्तै अर्को वर्ष नाफा १७ अर्ब ४८ करोड पु¥यायो । तर गत आर्थिक वर्ष उसको मुनाफा ७ अर्ब ४५ करोड रुपैयाँमा सीमित भएको छ । अर्थात चार वर्षमा उसको मुनाफा ५७ प्रतिशतले खुम्चिएको हो ।
महालेखा परीक्षकको कार्यालयले आफ्नो ५८ औं वाषिर्क प्रतिवेदनमा टेलिकमले उच्च गतिमा इन्टरनेट चलाउन सकिने फोरजी र एफटिटिएच समयमा विस्तार गर्न नसकेकाले आम्दानीमा व्यापक गिरावट आएको उल्लेख गरेको छ । करिब २० अर्बको लागतमा अगाडि बढाइएको फोरजी सेवा विस्तारको काम गत फागुनमा सक्नुपर्नेमा अझै सकिएको छैन ।
२०६७ मा अघि बढाइएको असीमित डाटा ट्रान्सफर गर्ने फाइबरमा आधारित एफटिटिएच सेवा पनि टेलिकमले पूर्णरुपमा विस्तार गर्न सकेको छैन ।
ग्राहक संख्या बढ्दै गएपनि टेलिकम व्यवसाय आक्रामकरुपमा विस्तार गर्न चुकेको छ । विस्तारित सेवाको गुणस्तरमा कमजोरी र मर्मत सम्भारमा ढिलासुस्ती पनि टेलिकमको कमाइ घट्नुका कारण हुन् । भ्वाइस कलको व्यापार खस्किएकाले विश्वका अधिकांश टेलिकम कम्पनी डाटा विजनेशमा केन्द्रित भएका छन् ।