आधारभूमि संवाददाता
काठमाडौं,भदौं २५
गत आर्थिक वर्षमा सेयर कर्जा १ सय १० प्रतिशतले बृद्धि भएको छ। जसलाई रोक्नका लागि राष्ट्र
बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत प्रतिब्यक्ति ४ करोड भन्दा बढि सेयर कर्जा प्रवाह गर्न नपाइने व्यवस्था गरेको छ ।
राष्ट्र बैंक सेयर बजार अस्वाभाविक रुपमा बढेको ठान्दछ । यसरी बबल क्रियट भएको बजार जुन सुकै बेला ब्रस्ट हुन सक्ने भन्दै राष्ट्र बैंकले सेयर कर्जाम कडाई गरेको हो ।
‘महामारीमा अन्य बाटा बन्द भएपछि सेयरमा लगानी बढ्यो, अब उत्पादनशिल क्षेत्रमा लगानी बढोस् र सेयरबजारमा बबल क्रियट हुन रोक्न सेयर कर्जामा कडाई गरेका हौं । ’ राष्ट्र बैंकका एक अधिकारीले बताए ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भने राष्ट्र बैंक सेयर कर्जामा कठोर भएको छ। लगानीकताले अर्थमन्त्री जनार्दन शर्मालाई गुहारेपनि यसमा राष्ट्र बैंकले पुनरावलोकन नगर्ने जनाइसकेको छ।
अन्य क्षेत्रमा भने खासै कर्जा बिस्तार भएको छैन । डिमान्ड तथा चालु पूँजी कर्जा २५.४ प्रतिशतले, रियल स्टेट कर्जा १५.८ प्रतिशतले र भने हायर पर्चेज कर्जा ७.७ प्रतिशतले घटेको देखिन्छ । त्यसैगरि आवधिक कर्जा २९.७ प्रतिशतल र ट्रष्ट रिसिट (आयात) कर्जा ४८.७ प्रतिशतले बृद्धि भएको छ ।
ओभरड्राफ्ट कर्जा २९.८ प्रतिशतले बढेको छ। जुन पनि सेयर बजारमा नै गएको राष्ट्र बैंकको बुझाई छ। यसरी अस्वाभाविक रुपमा बढेको मार्जिन कर्जा कम गर्न राष्ट्र बैंकले यो वर्ष सेयर कर्जाको सिमा घटाएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा कुल आन्तरिक कर्जा २६.८ प्रतिशतले बढेको छ । जबकी नेपाल राष्ट्र बैंकले २१ प्रतिशतको बृद्धिको लक्ष्य राखेको थियो । अस्वाभाविक रुपमा कर्जा बिस्तार भएपछि राष्ट्र बैकले यो वर्ष भने यस्तो बिस्तार घटाएर १९ प्रतिशत कायम गरेको छ।
२०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालु सम्पत्तिको धितोमा प्रवाह भएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ४३.६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २०.६ प्रतिशतले र निर्माण क्षेत्रतर्फको कर्जा १८.४ प्रतिशतले बढेको देखिन्छ ।
त्यस्तै यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २०.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २६.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा २०.९ प्रतिशतले बढेको छ ।