आधारभूमि संवाददाता
काठमाडौं, भदौं २४
फिफा विश्वकपको यूरोपियन छनोटमा जर्मनीले सहज जित निकालेको छ ।बुधवार राति भएको खेलमा जर्मनीले आइसल्याण्डलाई ४-० गोलले पराजित गरेको हो ।
जर्मनीलाई जित दिलाउन सर्ज गेनाब्री ,एन्टोनिया रुडिगर,लेरो साने र टिमो वर्नरले एक-एक गोल गरे ।जर्मनीले दुई गोल पहिलो हाफ र दुई गोल दोस्रो हाफमा गरेको हो ।
खेलको चौथो मिनेटमा सर्ज गेनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको २४ औं मिनेटमा एन्टोनिया रुडिगरले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ५६ औं मिनेटमा लेरो सानेले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।
त्यसपछि खेलको ८८ औं मिनेटमा टिमो वर्नरले गोल गर्दै जर्मनीलाई ४-० को सहज जित दिलाए ।
जितसँगै जर्मनीले ६ खेलबाट १५ अंक जोडेको छ र समूह (जे) को शीर्ष स्थानमा छ । पराजित आइसल्याण्डको ६ खेलबाट ४ अंक छ र पाँचौं स्थानमा छ ।