आधारभूमि संवाददाता
काठमाडौं, भदौ १७ ।
कोभिडका कारण आर्थिक गतिविधि खुम्चिएपनि ब्याज अनुदान पाइने सहुलियतपूर्ण ऋण भने गत एक वर्षमा ७१ प्रतिशतले विस्तार भएको छ ।
एकै वर्षमा ४२ अर्ब सहुलियतपूर्ण ऋण विस्तार भएको देखिएको छ। गत दुई वर्षमा यस्तो ऋण ५९ अर्ब रुपैयाँ प्रवाह भएको थियो र उद्यमका लागि ३२ हजार जनाले ब्याज अनुदानको ऋण लिएका थिए ।
तर गत असारसम्ममा भने यस्तो ऋण लिनेको संख्या असार मसान्तसम्म १ लाख चार हजार पुगेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष मात्र ७२ हजारले ऋण लिएका छन् । अहिले सहुलियत ऋणको आकार बढेर १ खर्ब १ अर्ब रुपैयाँ नाघेको छ ।
नेपाल राष्ट्र बैंकले यस्तो कर्जा अनिबार्य रुपमा प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ । प्रतिसाखा १० जनालाई यस्तो कर्जा लगानी गर्नुपर्ने बाध्यताले बैंकको लगानी बढ्दा यता रोजगारी सिर्जना भएको छ ।
६ प्रतिशत ब्याज अनुदान पाइने भएकाले खासगरी महिला उद्यमशील ऋणमा आकर्षण देखिन्छ । यो ऋण एक वर्षमा ११ गुणाले विस्तार भयो । पहिलो दुई वर्षमा जम्मा ४ अर्ब ३५ करोड रुपैयाँ प्रवाह भएको यो ऋणको आकार अहिले ५० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
अहिले सहुलियत दरमा पाइने ऋण १० प्रकारका छन् । बैंक तथा वित्तीय संस्थाले आधार दरमा थप दुई प्रतिशत ब्याज लिन पाउँछन् । महिला उद्यमशीलवाहेक अन्य ऋणमा ५ प्रतिशत ब्याज अनुदानको व्यवस्था छ । अर्कातिर धितो पनि चाहिंदैन । ऋण नडुबोस् भनेर सरकारले परियोजनाको बिमा समेत गरिदिन्छ ।
ऋणीले २५ र सरकारले ७५ प्रतिशत प्रिमियम तिर्ने व्यवस्था छ । तर, शैक्षिक प्रमाणपत्र धितो राखेर प्रदान गरिने ऋण भने खासै विस्तार हुन सकेको छैन । सरकारले सबैभन्दा महत्व दिएर प्रचारप्रसार गरेको भएपनि ३ वर्षमा जम्मा १ सय ४० जनाले ऋण लिएका छन् ।
यस्ते ऋण तीन वर्षमा ७ करोड ५२ लाख रुपैयाँ मात्र प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।।
उच्च शिक्षा हासिल गरेका कैयन युवाले व्यवसायिक योजना पेश गर्न सकेका छैनन् । जसका कारण बैंकहरुले पनि उनिहरुको योजनामा लगानी गरेका छैनन् ।
बैंकहरु यस्तो उच्च शिक्षा हासिल गरेका युवाहरुको प्रमाणपत्र मात्रै हुँदैमा ऋण नदिने सोचमा छन् । व्यवसायिक योजना र भोलि प्रतिफलको सुनिश्चीत देखिनेमा मात्रै लगानी गर्न खोजेका छन् ।