neapl investment mega bank
  • गृहपृष्ठ
  • विदेश पढ्न जानेबाट बाहिरिने रकममा सुधार, सेवा आय ७२ अर्ब घाटामा

विदेश पढ्न जानेबाट बाहिरिने रकममा सुधार, सेवा आय ७२ अर्ब घाटामा

Sep 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौं १६

आर्थिक वर्ष २०७७/७८ मा खुद सेवा आय ७२ अर्ब ८५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ९६ करोड ४७ लाखले घाटामा रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा सेवा खाता अन्तर्गत भ्रमण आय ८८.१ प्रतिशतले कमी आई ७ अर्ब २७ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आय ६० अर्ब ८९ करोड रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३८.३ प्रतिशतले कमी आई ३२ अर्ब ८० करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय २४ अर्ब ९६ करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय ५३ अर्ब १४ करोड रहेकोमा शिक्षातर्फको व्यय २५ अर्ब ८१ करोड रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ६१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो ।

महामारीका बिचमा पनि बैदेशिक लगानीमा भने सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षमा पनि महामारी रहेकाले गत आर्थिक वर्षमा बैदेशिक लगानीमा ठूलो गिरावट आउन पाएको छैन ।

गत आर्थिक वर्षमा खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भई १९ अर्ब ५१ करोड कायम भएको छ। जबकी अघिल्लो आर्थिक वर्षमा यस्तो लगानी १९ अर्ब ४८ करोड रहेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा पुँजीगत ट्रान्सफर ७.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २६ करोड पुगेको छ जुन अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १४ अर्ब २१ करोड रहेको नेपाल राष्ट्र बैंक बताउँछ ।

आर्थिक वर्ष २०७७/७८ मा खुद ट्रान्सफर ९.१ प्रतिशतले वृद्धि भई १०७१ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा चालु खाता ३ सय ३३ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालु खाता गत आर्थिक वर्षमा २ अर्ब ८४ करोडले घाटामा रहेको छ ।