काठमाडौ, भदौ १०
नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भएका सुमनराज अर्याल नेपाल बैंकको सञ्चालक समितिको आज बिहिबार बिहान बसेको बैठकबाट सर्वसम्मतरुपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएकाछन । सञ्चालक समितिका नवनियुक्त अध्यक्ष अर्यालले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट आजैका मितिमा पद तथा गोपनियताको शपथ ग्रहण गरेकाछन ।
शपथ ग्रहण कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीले नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिंदै उनको आगमनले बैंकको सञ्चालक समितिले थप उचाई लिने र एउटा सफल प्रतिस्पर्धी बैंककोरुपमा आफूलाई उभ्याउन सफल हुने विश्वास व्यक्त गरे । साथै,नेपाल सरकारले देशमा उद्यमशीलताको विकास र रोजगारी सिर्जनाका लागि तर्जुमा गरेका नीति तथा कार्यक्रमको कार्यान्वयनमा समेत नेपाल बैंकको विशेष योगदान रहने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा आफ्ना भनाई राख्दै नवनियुक्त अध्यक्ष अर्यालले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरे । शपथ ग्रहण कार्यक्रमका लागि नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दे उनको आफ्नो कार्यकालमा बैंकको श्रीवृद्धि तथा व्यवसायिक विकासमा आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय निलम शर्मा ढुंगाना र बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल लगायत नेपाल राष्ट्र बैंकका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका सदस्यहरु दीपेन्द्र विक्रम थापा, सुमन दाहाल, डा.सावित्री रञ्जित श्रेष्ठ, विवेक शम्शेर ज.ब.रा., विष्णु कुमार अग्रवाल र ओम कृष्ण श्रेष्ठको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त जानकारी गराएका थिए । साथै, उक्त कार्यक्रममा बैंकका का.मु.नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तको समेतको उपस्थिति रहेको थियो ।