neapl investment mega bank
  • गृहपृष्ठ
  • रोजगारीका लागि सीप प्रर्वधन गर्न परिसंघ र सीप कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर

रोजगारीका लागि सीप प्रर्वधन गर्न परिसंघ र सीप कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर

Aug 17th, 2021

काठमाडौ, भदौ १

काठमाडौं– कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रमलाई अघि बढाउने उद्देश्यले नेपाल उद्योग परिसंघ र युके एड (रोजगारीका लागि सीप कार्यक्रम–सीप) कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलको उपस्थितिमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र सीप परियोजनाका टिम लिडर बलिजत बोहराले हस्ताक्षर गरेकाछन ।

कार्यक्रममा उद्योग सचिव पोखरेलले औद्योगिक क्षेत्रका लागि आवश्यक सीपयुक्त जनशक्ति तयार गर्ने उद्देश्यले सरकारले कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम अघि बढाएको भन्दै त्यसलाई कार्यान्वयन गर्न यो समझदारी महत्त्वपूर्ण हुने बताए । ’उद्योगका लागि सीपयुक्त जनशक्ति आवश्यक पर्दछ भन्ने कुरालाई सरकारले गम्भीररूपमा लिएर यो कार्यक्रम बजेटमा समावेश गरेको छ,’ उनले भने, ’अहिले हामीले न्यूनतम पारिश्रमिक दिएर सीपमूलक तालिम दिने र दक्ष जनशक्ति तयार गर्ने भनेका छौँ। यसको प्रभावकारिता हेरेर भविष्यमा बजेट वृद्धि र कार्यक्रम विस्तार गर्नेछौँ ।’

सचिव पोखरेलले औद्योगिक क्षेत्रको विकासका लागि सरकारले नीतिगत सुधार, जग्गा व्यवस्थापन, वित्तीय साधनको उपलब्धता र पूर्वाधार विकासलाई ध्यान दिएर काम गरिरहेको बताए । सरकारले हेरक क्षेत्रको अनुसन्धान र विकास योजना अघि बढाएको भन्दै निजी क्षेत्र पनि त्यसको अंग बन्न सक्ने बताए । यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उद्योगहरूका लागि आवश्यक सीपयुक्त जनशक्ति तयार गर्ने दायित्व परिसंघको भएको बताए । उनले ’मेक इन नेपाल–स्वदेशी’ अभियानले वर्षेनी १ लाख ५० हजार औद्योगिक रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको भन्दै यस समझदारीले उक्त उद्देश्य हासिल गर्न सहयोग पुर्याेउने बताए ।

उहाँले हरेक उद्योग प्रतिष्ठानका लागि सीपयुक्त जनशक्ति आवश्यक पर्ने भन्दै त्यसका लागि परिसंघ र सीप परियोजनाले मिलेर काम गर्ने बताए । ’हरेक यन्त्र उपकरण सञ्चालन गर्न सीपयुक्त जनशक्ति आवश्यक पर्छ,’ उहाँले भन्नुभयो, ’हामीले सीपसँग विभिन्न हिसाबमा यसअघि पनि सहकार्य गरेका थियौँ। अहिलेको समझदारीले हामीलाई नयाँ ढंगबाट अघि बढाउनेछ ।’ यस समझदारीअनुसार प्रदेश नं २ र लुम्बिनी प्रदेशमा व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पर्यटन, सूचना प्रविधि र निर्माण क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि परिसंघ र सीप परियोजनाबीच सहकार्य हुनेछ ।

सीप कार्यक्रम प्रमुख बलजित बोहराले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्य राखिएको बताए । उनले सीपमा आधारित रोजगारीका लागि च्यालेन्ज फन्ड र प्राविधि सहयोगमार्फत काम अघि बढ्ने जानकारी दिए । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगीकरणका लागि सीप विकासको आवश्यकता औैल्याए । यसैगरी परिसंघका उपाध्यक्ष रोहित गुप्ताले परिसंघले स्किल हब र स्किल एकेडेमी अघि बढाउने उद्देश्य राखिएको जानकारी गराए ।

यस समझदारीपश्चात रोजगारी सिर्जनाका लागि नेपाल सरकारका विभिन्न निकायसँग परिसंघ र सीपले साझा पैरवी गर्नेछन् । परिसंघले अघि बढाएको ’मेक इन नेपाल – स्वदेशी’ अभियानलाई सहयोग पुग्ने गरी सीपयुक्त जनशक्ति विकास गर्ने र एकदेखी तीन महिनाको कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने उद्देश्य पनि राखिएका छन् ।

कार्यक्रममा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोर तथा उपाध्यक्षहरू राजेशकुमार अग्रवाल र हेमराज ढकाल एवं महानिर्देशक यादवप्रसाद पौड्याल र सीपको तर्फबाट स्तुति बस्नेत र ताराप्रसाद बखरियाको उपस्थिति थियो ।