neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • थारू समुदायको परम्परालाई सरकारी मान्यता

थारू समुदायको परम्परालाई सरकारी मान्यता

Aug 11th, 2021

बाँके, २७ साउन /रासस

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले परम्परागत बरघर प्रथालाई कानुनी मान्यता दिएकामा थारू समुदाय उत्साहित छ ।

नेपालमै पहिलोपटक नगरपालिकाको आठौँ नगरसभाले ‘बारबर्दिया नगरपालिकाको क्षेत्रभित्र रहेका टोल, बरघर र संस्थालाई परिचालन गर्न बनेको ऐन २०७७’ पारित गरी लागू गरेको हो । उक्त ऐनमा बरघरको चयन, कार्यक्षेत्र, काम,कर्तव्य, अधिकारको व्यवस्थाका साथै नेपाल सरकारको प्रचलित ऐन नियमको विपरीत नहुने गरी कार्य गर्नुपर्ने कुरा उल्लेख छ ।नगरपालिकाले उक्त ऐन जारी गर्नाका साथै ११ वटै वडाका ९० मूल बरघरलाई परिचयपत्र वितरण गरेको थियो ।

उक्त ऐन कार्यान्वयनका क्रममा गत वैशाख ६ गते बरघरसम्बन्धी बृहद् गोष्ठी गरिएको थियो । अठ्ठाइसौँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा परिचयपत्र र प्रमाणपत्र वितरण शुरु गरेकाले उनीहरू उत्साहित भएका थिए ।आफूहरूको आधिकारिकताका लागि पनि परिचयपत्र उपलब्ध गराउनुपर्ने माग गोष्ठीमा बरघरहरुले गरेकाले नगरपालिकाले प्रमाणपत्रसहितको परिचयपत्रको व्यवस्था गरेको हो ।

लुम्बिनी प्रदेशसभा सदस्य तिलक शर्मा हिमालले पहिलोपटक बरघर ऐन बनाएर नगरपालिका नमूनाको रूपमा प्रस्तुत भएको छ भन्नुभयो । यो प्रथा परम्परागत भए पनि लोकतान्त्रिक पद्धतिको एउटा स्वरूप भएकाले यसलाई बचाई राख्नुपर्नेमा जोड दिँदै उहाँले यस्ता प्रथाले सामाजिक काममा समेत योगदान पु¥याउने हुँदा नगरपालिकाले त्यसलाई मान्यता दिएर ऐतिहासिक कार्य गरेको बताउनुभयो ।

नगरप्रमुख दुर्गाबहादुर थारू कबिरले बरघरहरुलाई सामाजिक, सांस्कृतिक, धार्मिक र विकास निर्माणका काम गर्नाका लागि यस ऐनले अधिकार दिएको छ भन्नुभयो । उहाँले यस ऐनको कार्यान्वयनका लागि बरघरहरुलाई अभिमुखीकरण तालीम दिइने बताउनुभयो ।

नगरउपप्रमुख अञ्जु दहितले समुदायभित्रका विवादलाई समाधान गरेर न्यायिक समितिलाई पनि सहयोग पु¥याएको छ भन्नुभयो । बरघरहरुलाई सामान्य विवादबाहेक फौज्दारी तथा अन्य विवादभने मेलमिलापकर्ता तथा न्यायिक समितिमा पठाउन सुझाव दिनुभयो ।
परापूर्वकालदेखि अहिलेसम्म थारू समुदायमा अझै पनि बरघर प्रथा यथावत् छ । समाजमा भएका विकृति–विसङ्गति न्यूनीकरणदेखि विभिन्न सामाजिक कार्यमा पनि बरघरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकामा सरकारी मान्यता नहुँदा समस्या पर्दै आएको थियो । नगरपालिकाले परिचयपत्र दिएपछि आगामी दिन आफूहरूलाई काम गर्न सहज हुने बरघर सञ्जालका नगरअध्यक्ष रामसोहन चौधरीले बताउनुभयो । परिचयपत्र र प्रमाणपत्र उपलब्ध गराइएपछि बरघरहरूको हौसला बढेकाले नगरपालिकाको यस्ता विकासको कामलाई अझै सघाउँदै जाने जनाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi