neapl investment mega bank
  • गृहपृष्ठ
  • ‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी अग्रसर

‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी अग्रसर

Nov 27th, 2019

– विमलबहादुर विष्ट

डोटी, ११ मङ्सिर (रासस)

सुदूरपश्चिम प्रदेशको ‘भू–स्वर्ग’ मानिने खप्तड क्षेत्रलाई देशभित्र र बाहिर चिनाउन यहाँका स्थानीयवासी र सङ्घ संस्था अग्रसर भएका छन् । कुनैबेला निगालोको जङ्गलका रुपमा चिनिँदै आइएको खप्तड क्षेत्रलाई पछिल्लो समय सुदूरपश्चिमका स्थानीयवासी प्रकृतिले दिएको अनुपम उपहार भन्दै संसारभरि चिनाउन लागिपरेका छन् । असाधारण तपस्वी खप्तड बाबाले ५० वर्ष तपस्या गरेपछि सुदूरपश्चिमका चार पहाडी जिल्लाको सिमानामा पर्ने खप्तड क्षेत्रलाई ‘भू–स्वर्ग’को उपनाम दिनुभएको थियो । उहाँ आध्यात्मिक गुरु र विचारकका रूपमा चिनिनुहुन्छ । सन् १८८० मा भारतको काश्मीरमा बस्ने नेहरू परिवारमा जन्मिनुभएका खप्डतबाबा विसं १९८६ मा नेपाल आउनुभएका थियो । उहाँले कलकत्तास्थित ट्रपिकल मेडिकल कलेजबाट एम.बी.बी.एस. र बेलायतबाट शल्य चिकित्साबारे अध्ययन गर्नुभएको थियो ।

काशीको दक्षिणामूर्ति मठमा पूर्वीय दर्शन अध्ययन गरेपछि गहन साधनाका लागि उहाँले नेपालको खप्तड लेक रोज्नुभएको थियो । उहाँका धर्म विज्ञान, विचार विज्ञान, म र मेरो कर्तव्य लगायतका झण्डै डेढ दर्जन पुस्तकहरू प्रकाशित छन् । प्रकाशन हुन नसकेका उहाँकै हस्तलिखित अरु थुपै कृतिहरू विभिन्न मन्दिरहरूमा रहेका छन् । खप्तड बाबाको विसं २०५३ साल जेष्ठ कृष्ण सप्तमीका दिन निधन भएको थियो । खप्तड बाबाले भने झै खप्तड भू–स्वर्ग भन्दा कम नभएको यहाँका स्थानियवासीको दाबी छ । खप्तड क्षेत्रमा पर्यटकहरु भित्र्याउन अहिले सुदूरपश्चिमेलीहरु रातदिन खटिरहेका छन् । गलैंचा बिच्छाए झै लाग्ने विशाल हरिया फा“टहरु, मनै लोभ्याउने रङ्गीचङ्गी फूल, आश्चर्य लाग्ने त्यहा“को मौसम शायदै पृथ्वीका कुनै कुनामा भेटिएलान् । बाइस पाटन ५२ झोती भएको नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज पनि हो खप्तड क्षेत्र । हिउँद, वर्षा, गर्मी मौसममा भिन्न रुपमा प्रस्तुत हुने खप्तड धेरैका लागि नपुगी नहुने गन्तव्य पनि भएको डोटी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो – “सुदूरपश्चिम आउने पर्यटकका लागि खप्तड नपुगी नहुने ठाउँ हो । खप्तड पुग्दा मनका अशान्ति सबै हराउने छन् ।” चार रैथानेसहित १३५ प्रजातिका फूल खप्तडमा नियाल्न सकिन्छ । यहाँ २२४ प्रजातिका जडीबुटी, ५३७ प्रजातिका वनस्पति, २७० जातका चराचुरुङ्गी हेर्न पाइन्छ । विश्वमै दुर्लभ मानिने हरियो छेपारो खप्तडमा पाइन्छ । बाह्रै महिना पानीको सतह एकनासको हुने विशेषता रहेको १५० मिटर लामो ५० मिटर चौडा दह पनि यहाँ छ । सहस्रलिङ्ग, नागढुङ्गा, ताल, दुर्लभ बझाङ्गी भ्यागुता खप्तडले पाएका भिन्नै उपहार हुन् । प्रकृतिले खप्तड धनी छ नै । धार्मिक रुपले पनि यो त्यतिकै प्रसिद्ध छ ।

पूर्वीचौकी गाउँपालिकाका काँग्रेस नेता रामप्रसाद उपाध्यायले भन्नुभयो – “खप्तड क्षेत्र जति प्राकृतिक रुपमा धनी छ, त्यत्ति नै धार्मिक रुपमा पनि ओजपूर्ण छ । खप्तड पुगे घर फिर्ता हुन मन लाग्दैन ।” खप्तडको त्रिवेणी मन्दिर धार्मिक रुपले अत्यन्त महत्वपूर्ण मानिन्छ । गङ्गादशहराका दिन पुजिने त्रिवेणी मन्दिरमा दर्शनार्थीहरुको ओइरो लाग्ने गर्छ । त्यो सँगै खप्तड बाबाको कुटी छ यहाँ । समुद्री सतहदेखि करीब दुई हजार ७०० देखि तीन हजार २२७ मिटरसम्मको उचाइमा अवस्थित खप्तड २२५ वर्गकिलोमिटरको क्षेत्रफलमा फैलिएको छ । कहिले हिउभित्र लुक्ने त कहिले रङ्गीचङ्गी फूलहरुसँग जिस्कने खप्तड धेरैका लागि अध्ययनको विषय पनि भएको डोटीका नेकपाका नेता तथा सङ्घीय सांसद प्रेमबहादुर आलेमगरले बताउनुभयो ।

खप्तड पुगी प्राकृतिक सुन्दरताको आनन्द लिने मात्र होइनन्, धार्मिक आस्था राख्नेहरु पनि अधिक छन् । त्रिवेणी, खापरदह, सहस्रलिङ्ग, नागढुङ्गा, गणेशस्थान जस्ता साँस्कृतिक महत्व बोकेका धार्मिक स्थलहरु पनि खप्तडमा रहेका छन् । गङ्गादशहराको बेला खप्तडको त्रिवेणीमा भव्य मेला लाग्ने गर्छ । पर्यटनका दृष्टिले खप्तड अत्यन्त उर्बर क्षेत्र भएको स्थानीयवासीको दाबी छ । यहाँ पर्यटक भित्र्याउन सक्ने हो भने खप्तडको सिमाना जोडिएका सुदूरपश्चिमका चार जिल्ला बझाङ, अछाम, बाजुरा र डोटीको आर्थिक रुपले सबल बन्ने खप्तड मध्यवर्ती क्षेत्र विकास समितिका पूर्व अध्यक्ष लालबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो – “खप्तड क्षेत्रमा पर्यटक मात्रै भित्र्याउन सके यहाँका चार पहाडी जिल्लाको विकास उल्लेख्य मात्रामा हुने देखिन्छ । अरु भन्दा खप्तडको विकास गर्न सके राम्रो ।”

खप्तड क्षेत्र पर्यावरणीय र धार्मिक पर्यटनसँगै अनुसन्धानकर्ताका लागि समेत उपयुक्त भएकाले वातावरण बनाउन सके खप्तडमा पर्यटकको ओइरो लाग्ने खप्तड पर्यटन विकास समितिका पूर्व अध्यक्ष पूर्णराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो – “खप्तडमा पर्यटन प्रवद्र्धन गर्न सकिए अर्बौ रुपैयाँको कारोबार हुने छ ।” पर्यटन बाहेक खप्तडको जडीबुटी र वनस्पति अर्को आयस्रोत हुन् । जङ्गली विषदेखि संजीवनी बुटीसम्म खप्तडमा रहेकाले त्यसको सही सदुपयोग हुन जरुरी रहेको खप्तड क्षेत्र आउनुभएका अनुसन्धानकर्ता नारायण रुपाखेती बताउनुहुन्छ । खप्तड राष्ट्रिय निकुञ्जमा वार्डेनका रुपमा समेत काम गरिसक्नु भएका रुपाखेतीले खप्तडको जडीबुटीको मात्र सदुपयोग गर्ने हो भने पनि सिङ्गो सुदूरपश्चिम धानिने दाबी गर्नुभयो । खप्तडको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि विसं २०६३ सालमा खप्तड पर्यटन विकास समितिको गठन गरिएको थियो ।

त्यसयता झण्डै २२ करोड रुपैयाँ विकास समितिमा आइसकेको छ तर, अहिलेसम्म पर्यटकलाई खाने बस्ने समेत खासै व्यवस्था हुन सकेको छैन । खप्तडको बिचपानी र पाटनमा दुई वटा विश्राम गृह बनाइएको भए पनि ती गुणस्तरहीन भएकाले पाहुना बस्न लायक नभएको हालै खप्तड पुगेर फर्किनुभएका सञ्चारकर्मी मोहन शाहीले बताउनुभयो । हरेक समिति र त्यहाँका कर्मचारी वर्षेनी आर्थिक अनियमितताको आरोपले मुछिँदै आएका छन् । खप्तड मध्यवर्ती क्षेत्र विसं २०६१ सालमा गठन भएको हो । खप्तडको मध्यवर्ती क्षेत्रअन्तर्गत चार जिल्लाका तत्कालीन २१ गाविस रहेका छन् । निकुञ्जको आम्दानी न्यून छ । निकुञ्जका वार्डेन लालबहादुर भण्डारीले भन्नुभयो – “पर्यटकबाट केही आम्दानी हुन्थ्यो, त्यो पटक्कै छैन । अरु आयस्रोत अहिले निकुञ्जसँग छैन ।”

निकुञ्जबाट आएका वन्यजन्तुले अन्नपात खाइदिने, मान्छेमाथि आक्रमण गर्ने गरेकाले मध्यवर्ती क्षेत्रका स्थानीयवासी निरास छन् । निकुञ्ज भएकाले आफ्ना बस्तुभाउहरुको चरिचरनमा पनि समस्या भएको स्थानियवासी धनबहादुर विष्टले दुःखेसो गर्नुभयो । उहाँले भन्नुभयो – “निकुञ्जका जनावरले हाम्रा खेतीपाती र अन्नबाली सबै खाई दिन्छन्, राहत पाइँदैन । हाम्रा चौपायालाई निकुञ्जमा चर्ने अनुमति छैन । हामीलाई समस्या छ ।”