neapl investment mega bank

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

Nov 26th, 2019

भक्तपुर, १० मङ्सिर (रासस)

मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको नेतृत्वमा जिल्ला निर्वाचन कार्यालय, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र सुरक्षा निकायबीच आज भएको छलफलमा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

कार्यक्रममा प्रजिअ भट्टले यही १४ गते हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै ११ गते अपराह्नदेखि मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी पुग्ने बताउनुभयो । उहाँले मतदान केन्द्र, मतदान स्थल र निर्वाचन हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिने बताउँदै एक मतदानस्थलमा कम्तीमा १२ जनादेखि ३० जनासम्म सुरक्षाकर्मी परिचालन हुने उहाँले जानकारी दिनुभयो । आवश्यकताअनुसार सुरक्षाकर्मी थप गर्न सक्ने बताउँदै उहाँले मतदानस्थलमा नेपाल प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुने जानकारी दिँदै उहाँले सादा पोशाकमा सुरक्षाकर्मी पनि आवश्यकताअनुसार तैनाथ हुने बताउनुभयो । शान्तिपूर्ण रुपमा मतदान गर्ने गरी तयारी पूरा भएको जानकारी दिँदै प्रजिअ भट्टले कुनै पनि ठाउँमा केही घट्ना भएमा तत्कालै थप सुरक्षाकर्मी पुग्ने गरी तयारी अवस्थामा राखिने उहाँको भनाइ थियो ।

उहाँले निर्वाचनका दिन मध्यपुरथिमिको राधेराधेदेखि अरनिको राजमार्गको उत्तरतर्फको क्षेत्रमा १३ गते राति १२ बजेदेखि १४ गते रातिसम्म यातायातको साधन सञ्चालनमा रोक लगाउने बताउँदै निर्वाचन हुने क्षेत्रहरुमा अनुमति पत्र(पास) बाहेकका सवारी साधनलाई पूर्णरुपमा रोक लगाउने जानकारी दिनुभयो । निकोसेरा, खस्याङ्गखुस्कुङ्ग पुल, सल्लाघारी, व्यासी, भक्तपुर बजार, कमलविनायक, च्यामासिंह, नाला जाने सडकबाट उत्तरतर्फ पूर्णरुपमा यातायातको साधन चल्न नपाउने भएको छ । यातायातको पासको सन्दर्भमा उम्मेदवारको हकमा एउटा हलुका सवारी साधनको पास र सञ्चारकर्मीको हकमा सूचना विभागले सिफारिस गरेका सञ्चारकर्मीलाई मात्रै सवारी पासको व्यवस्था गरिने जानकारी दिनुभयो ।

मतगणना स्थलमा तारजाली राखिने निर्णय भएको समेत उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नेकपाका प्रतिनिधि शम्भु दाहाल, नेपाली काँग्रेसका प्रतिनिधि निशान ढुङ्गेलले पार्टीका जिल्ला अध्यक्ष एवं सभापतिका लागि पनि सवारी पास उपलब्ध गराउनुपर्ने, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुद बनाइनुपर्ने बताउनुभयो । निर्वाचन आयोगले उपनिर्वाचनका लागि चाँगुनारायण नगरपालिकाको नौ वटा वडा र भक्तपुर नगरपालिकाको १० नम्बर वडामा गरी कूल २२ मतदानस्थल रहेको र जसमध्ये कूल १० वटा मतदानस्थल संवेदनशील रहेको जनाएको छ । उपनिर्वाचन क्षेत्रमा कूल ४५ हजार ३६ मतदाता रहेका छन् । मुख्य निर्वाचन अधिकृत जगत प्रधानले उपनिर्वाचनलाई प्रभाव पार्नेगरी भोज भतेर गर्न र निर्वाचनको दिनमा विवाहको नाममा कुनै पनि भोज भतेर गर्नसमेत रोक लगाएको छ ।