आधारभूमि संवाददाता
काठमाडौं, साउन १९
१० वर्षसम्म ढुक्क ९ प्रतिशत ब्याज दिने गरि अहिले सिभिल बैंक र सेञ्चुरी बैंकले ऋणपत्र निष्काशन गर्दैछन् । त्यसैगरि कामना सेवा बिकास बैंकले पनि ९ प्रतिशत ब्याज दिने तयारी गरेको छ भने गरिमा बिकास बैंकले सात वर्षे मुद्दति निक्षेपमा ८ दशमलव सात पाँच प्रतिशत ब्याज दिने भएको छ ।
सेयरबजारमा हुने घटबढको जोखिम मोलेर लगानीकर्ताले लगानी गर्छन् । बजार बढिरहन्छ भन्ने कुनै निश्चीत छैन । मुद्दति निक्षेपमा पैसा राख्दा दुई देखि तीन वर्ष त ढुक्क । तर, योजना अवधि सानो हुने भएकाले त्यसपछि फेरी परिवर्तित ब्याजमा निक्षेप राख्नु पर्ने बाध्यता हुन्छ ।
तोकिएको अवधिभित्र साँवा र ब्याज दुवैभुक्तानी गर्ने शर्तमा संगठित संस्थाले जारी औजार ऋणपत्र हो । यसका लगानीकर्ताले वार्षिक वा अर्धवार्षिक रुपमा ब्याज पाउँछन् । आमनागरिकको निष्क्रिय पुँजीलाई बैंकिङ प्रणालीमा खिच्ने र तरलता अभाव हुन नदिने एक महत्वपूर्ण औजारको रुपमा यसलाई लिइन्छ ।
अहिले बजारमा जारी भएका ऋणपत्रको ब्याजदर मुद्दति खाताको भन्दा केही बढी छ । नेपालमा सुरुवातमा आम लगानीकर्ताले यसमा लगानी गर्न रुचि नदेखाएपनि अहिले भने बिक्री हुने क्रम बढेको छ ।
विदेशमा सेयरबजारमा ऋणपत्रको कारोबार ठूलो हुन्छ । तर नेपालमा भने अहिलेसम्म दोस्रो बजारमा ऋणपत्रको कारोबार एकदमै न्युन छ। ऋणपत्रमा लगानी गर्दा हुने फाइदाबारे पनि आम लगानीकर्ता पर्याप्त जानकार नहुँदा लामो समय यो बिक्री हुन सकेन । त्यसैले यसले दोस्रो बजारमा ठूलो हिस्सा ओगटन् सकेको छैन ।
मौद्रिक नीतिमा वाणिज्य बैंकले चुक्ता पुँजीको २५ प्रतिशत अनिवार्यरुपमा ऋणपत्र निष्काशन गर्नुपर्ने व्यवस्था गरेको छ । २०७७ असार मसान्त अन्तीम म्याद दिएको राष्ट्र बैंकले महामारी पछि भने यसको म्याद थपेर २०७९ पुराएको छ ।
सेयर बजार र मुद्दति निक्षेपमा जोखिम मोल्न नचाहने लगानीकर्ताहरुले बैंकको ऋणपत्रमा लगानी गर्न सक्छन् । जसका लागि अहिले ७ अर्ब २० करोडको ऋणपत्र निष्काशनको तयारी छ ।
सिभिल बैंकले प्रतिकित्ता हजार रुपैयाँ पर्ने ऋणपत्र ३ अर्बको निष्काशन गर्दैछ । धितोपत्र बोर्डका अनुसार ३० लाख कित्ता ऋणपत्र निष्काशनका लागि सिभिल बैंकले आवेदन दिएको छ । जसको अहिले सुरुवाती लेभलको अध्ययन भइरहेको छ ।
त्यसैगरि सेञ्चुरी कमर्सियल बैंकको २ अर्ब २० करोड रुपैयाँको २ लाख २० हजार कित्ता ऋणपत्र निष्काशन अन्तीम चरणमा पुगेको छ।
बोर्डका एक अधिकारीले भने ‘हामीले सिभिल बैक लगायत २ बिकास बैंकको पहिलो चरणको अध्ययन गर्दैछौ, तर सेञ्चुरीको दोस्रो चरणको अध्ययन पनि अब अन्तीम चरणमा छ । ’
बोर्डका अनुसार बाणिज्य बैंकको तुलनामा बिकास बैंकले ऋणपत्र दिने ब्याज भने केहि कम देखिन्छ । गरिमा बिकास बैंकले सात वर्षे ऋणपत्रमा ८ दशमलव सात पाँच प्रतिशत ब्याज दिने तयारी गरेको छ । तर कामना सेवा बिकास बैंकले भने १० वर्षको ऋणपत्रमा ९ प्रतिशत ब्याज दिने बताएको छ ।
गरिमा बिकास बैंक र कामना सेवा बिकास बैंकले एक÷एक अर्बको ऋणपत्र निष्काशन गर्न लागेका हुन् ।