काठमाडौँ, १० मङ्सिर (रासस)
काठमाडौँको बानेश्वरमा आइतबार बिहान पैदलयात्राका क्रममा चिकित्सकलाई ठक्कर दिएको आरोप लागेका बसका चालकलाई सवारी ऐनअन्तर्गत मुद्दा चलाइएको छ । उक्त दुर्घटनामा बा३ ख ६१४ नम्बरको बसका चालक बुद्धकुमार कोँजुको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले उनीविरुद्ध सवारी ज्यानसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट आज म्याद थप गरी उक्त विषयमा अनुसन्धान थालिएको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित सडकमा पैदलयात्राका क्रममा गाडीले ठक्कर दिँदा सुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डा प्रभु जोशीको निधन भएको थियो ।
ठक्करपछि गाडीसहित फरार भएका चालकलाई रामेछापबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो । प्रहरीले सीसी टीभी फुटेजका आधारमा गाडीको पहिचान गरेको थियो । जोशीको परिवारले ठक्कर दिने गाडीका चालकलाई पक्राउ गरी कारवाहीको माग गर्दै महानगरीय प्रहरी वृत्तमा जाहेरी दिएको छ । उक्त सवारी चालकले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको जनाइएको छ ।