neapl investment mega bank
  • गृहपृष्ठ
  • १० वर्ष अघिको निर्यात १ खर्ब पुर्याउने सपना पुराभयो, आयातीत कच्चा पदार्थको भरमा भएको निर्यात जोखिममा

१० वर्ष अघिको निर्यात १ खर्ब पुर्याउने सपना पुराभयो, आयातीत कच्चा पदार्थको भरमा भएको निर्यात जोखिममा

Jul 29th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, साउन १४

राष्ट्रिय योजना आयोगले तयार पारेको त्रिवर्षिय योजना २०६७/०६८ मा निर्यात ब्यापारलाई १ खर्ब पु¥याउने भनिएको थियो । त्यसको १० वर्षपछि सरकारले यो वर्ष १ खर्ब ४१ अर्बको निर्यात गरेको छ । तर, यस्तो निर्यात बृद्धि स्वदेशी कच्चा पदार्थबाट उत्पादन गरिएका बस्तुबाट नभई बिदेशबाट कच्चा पदार्थ आयात गरि देशमा प्रशोधन गरेर निर्यात गरिएको भटमासको तेलका कारण बढेको देखिएको हो ।

भन्सार विभागका अनुसार भटमासको तेल निर्यात गत वर्षको तुलनामा ३ सय २२ प्रतिशत अर्थात तीन गुणाले बढेको छ । आर्थिक वर्ष २०७७/०७८ मा १२ अर्ब ६९ करोडको भटमासको तेल निर्यात भएकोमा यो वर्षको सोहि अवधिमा यस्तो निर्यात बढेर ५३ अर्ब पुगेको हो ।

उच्च निर्यात हुने बस्तु तथा निर्यात बृद्धि हुने ५ बस्तुको सूचिमा भटमासको तेल पहिलो स्थानमा रहेको छ । त्यस्तै आयात हुने बस्तुको तेस्रो सूचिमा पनि यहि तेलको लागि आवश्यक कच्चा तेल रहेको देखिन्छ ।

विभागका अनुसार गत वर्ष १८ अर्बको भटमासको कच्चा तेल आयात भएकोमा यो वर्षको सोहि अवधिमा यस्तो आयात १ सय ८५ प्रतिशतले बढेर ५३ अर्ब ३८ करोड पुगेको छ । सिमा क्षेत्रमा खुलेका प्रशोधन केन्द्रले भटमासको कच्चा तेल आयात गरि त्यसलाई प्रशोधन गरेर भारत पठाउने गरेकाले भटमासको कच्चा तेल आयात ह्वात्तै बृद्धि भएको देखिएको हो ।

यसले केहि ब्यापारीलाई मनग्य कमाउन सहयोग गरेको छ । यसबाहेक यसले खास कुनै किसिमको लाभ दिन सकेको छैन ।

निर्यात बढेको बस्तुले यहाँ के कति रोजगारी दिन सक्यो भन्ने प्रमुख बिषय बन्छ । भटमासको पेलेर आएको कच्चा तेल यहाँ आएर केहि मात्रै प्रशोधन गर्ने भएका कारण यसले धेरै मानिसहरुलाई रोजगारी दिन सकेको छैन । यस्तो उद्योगको स्थापनाका लागि उद्योगीलाई ठूलो लगानी पनि गर्नु परेको छैन ।

त्यसैगरि अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा महामारीका कारण खुम्चीएको ब्यापार घाटा यो वर्ष महामारीकै बिचमा भएपनि फेरी बढ्न थालेको छ । गत आर्थिक वर्षमा यस्तो ब्यापार घाटा २७ दशमलव दुई छ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षमा १५ खर्ब ३९ अर्बको आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आयात ११ खर्ब ९६ अर्बमा सिमित थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष आयात २८ दशमलव छछ अंकले बढेको छ ।

आयातको तुलनामा निर्यातको बृद्धि ठूलो देखिएपनि रकममा हेर्ने हो भने यो ज्यादै न्युन छ ।

यसरी भटमासको तेल निर्यात बढेसँगै सरकारले १० वर्ष अघि लिएको १ खर्बको निर्यात गर्ने लक्ष्य त पुरा गरेको छ । तर स्वदेशी कच्चा पदार्थबाट उत्पादित बस्तुको आधारमा नभई यस्तो निर्यात विदेशबाट कच्चा पदार्थ आयात गरि प्रशोधन गरि पठाइएकाले यो दिगो हुने भने देखिदैन ।