neapl investment mega bank

सबै वडाबाट कोभिड विरुद्धको खोप

Jul 27th, 2021

काठमाडौँ, १२ साउन /रासस

बूढानीलकण्ठ नगरपालिकाले नागरिकको सुबिधाका लागि वडा–वडामै कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ । यसअघि नगरभित्र दुई ठाउँमा खोप केन्द्र राखिएकामा नगरपालिकाले अब १३ वटै वडाबाट खोप लगाउने तयारी गरेको हो ।

कोरोना सङ्क्रमणको जोखिम बढिरहेको र निश्चित ठाउँमा मात्रै खोप केन्द्र राख्दा नागरिकले कष्ट व्यहोर्नुपरेको गुनासो आएकाले नगरभित्रका सबै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख कुमारप्रसाद दाहालले बताउनुभयो । तोकिएको उमेर समूहका भन्दा पनि अन्य मानिस खोप केन्द्रमा उपस्थित हुँदा व्यवस्थापनमा साह्रै समस्या भयो । भिडभाड पनि बढी भएकाले सङ्क्रमणको जोखिम कम गर्दै नागरिकको सेवा र सन्तुष्टि बढाउन वडामै खोप लैजाने तयारी गरिएको उहाँको भनाइ थियो ।

मङ्गलबारदेखि नै ४५–४९ उमेर समूहलाई चाइनीज भेरोसेल पहिलो मात्रा लगाउन थालिएको नगरप्रमुख उद्धबप्रसाद खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “माग अनुसार एकै पटक त सक्ने अवस्था नभए पनि सबै नागरिकलाई खोप उपलब्ध गराउने र सङ्क्रमणबाट बचाउने अभियानमा हामी छौं ।”