काठमाडौ, साउन ३
कोभिड १९ को विश्वव्यापी महामारीको रोकथाम नियन्त्रण तथा प्रतिकार्यका लागि सामाजिक दूरी र सुरक्षाको मापदण्ड अपनाउ“दै एनएमबि बैंक र समाज कल्याण परिषद् बीच डिजिटल भुक्तानीको लागी द्विपक्षीय समझदारी भएको छ ।
समाज कल्याण परिषदमा आवद्घ भएका नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु र सबै सदस्यहरुले समाज कल्याण परिषदलाई तिर्नु पर्ने सम्पुर्ण भुक्तानीहरू विद्युतीय प्रणाली (अनलाइन) मार्फत गर्न सकिने व्यवस्था मिलाईएको जानकारी गराईएको छ । कार्यक्रममा भृकुटीमण्डप सञ्चालन कार्यालयका कार्यालय प्रमुख राम राज भट्टराईले समाज कल्याण परिषद्ले अनलाईन भुक्तानी कार्य शुरु गरेकोमा खुशी व्यक्त गर्दै एनएमबि बैंकलाई धन्यवाद ज्ञापन गरे साथै एनएमबि बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले पनि नगद सहितबाट नगद रहित समाज निर्माणतर्फ उन्मुख हुन तथा आफ्ना मुल्यवान ग्राहकलाई डिजीटल भुक्तानीमा अभिप्रेरित गर्न होस्टेमा हैसे गर्ने प्रयास रहेको कुरा प्रकाश पारे ।
कार्यक्रममा समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पदम प्रसाद खतिवडा, सदस्य सचिव पुष्कर खाती, प्रशाशन प्रमुख सञ्जय कुमार मल्लिकले पनि अनलाईन भुक्तानी सम्बन्धमा महत्व र फाइदाहरुको बिषयमा मन्तव्य दिएका थिए ।
समाज कल्याण परिषद् अन्तर्गत आवद्ध भएका भृकुटीमण्डप परिषर भित्रका २,००० सदस्यहरु लगायत ५०,००० भन्दा बढी एनजिओ र २०० भन्दा बढी आईएनजिओले उक्त भुक्तानी प्रणालीबाट लाभान्वित हुने विश्वास लिइएको छ । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।