neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठनको गृहकार्य भइरहेको छ : मुख्यमन्त्री राउत

प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठनको गृहकार्य भइरहेको छ : मुख्यमन्त्री राउत

Jul 13th, 2021

जनकपुरधाम, २९ असार /रासस

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले छ जना स्रष्टालाई नेपाल विद्यापति पुरस्कार–२०७७ बाट सम्मान गर्नुभएको छ ।

सो पुरस्कारअन्तर्गत नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट मैथिली साहित्य परिषद् (राजविराज), नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कारबाट वृषेशचन्द्र लाल (जनकपुरधाम), नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कारबाट सुजितकुमार झा (जनकपुरधाम), नेपाल विद्यापति मैथिली पाण्डुलिपी पुरस्करबाट अमरेन्द्र यादव (राजविराज), नेपाल विद्यापति मैथिली कला, संस्कृति पुरस्कारबाट अजितकुमार साह (जनकपुरधाम) र सुनिताकुमारी साह सम्मानित हुनुभएको छ ।

विद्यापति पुरस्कार कोषबाट वर्षेनी दिइने सो पुरस्कारको राशि क्रमशः दुई लाख, एक लाख र रु ५०/५० हजार रहेको छ । परिषद्लाई मैथिल संस्कृति, सभ्यता, भाषा र संरक्षण, लाललाई बिपी कोइरालाको ‘मोदियाइन’ उपन्यासको मैथिली अनुवाद, झालाई ‘पुनि पुनि होत विवाह’ विषयक अनुसन्धान, यादवलाई ‘स्त्री आ आगि’ नामक कविता सङ्ग्रह, अजितकुमार साह र सुनिताकुमारी साहलाई कला संस्कृति र गायनका लागि पुरस्कृत गरिएको हो ।

सो अवसरमा मुख्यमन्त्री राउतले प्रदेश सरकारले प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन गर्ने गृहकार्य गरिरहेको जानकारी दिनुभयो । ऐन निर्माणमा समय लाग्ने भएकाले मन्त्रिपरिषद्बाट कार्य आदेशमार्फत प्रतिष्ठान गर्न प्रयासरत रहेको उहाँले बताउनुभयो । पूर्वाधार विकासबाट मात्र समृद्धि हुन नसक्ने बताउँदै मुख्यमन्त्री राउतले भाषा, कला, संस्कृतिको विकासबाट समग्र विकासको गन्तव्य सफल हुनसक्ने धारणा राख्नुभयो ।

मधेशी आयोगका अध्यक्ष डा विजय दत्तले भाषा, कला, संस्कृतिको संरक्षणका लागि विद्यापति कोषलाई प्रदेश सरकारले सहयोग गरी सुदृढ बनाउनु जरुरी छ भन्नुभयो । पुरस्कृत स्रष्टा लालले जीवनको सत्य र सम्भावना, यथार्थताको सम्पूर्णतालाई स्वीकार गरी मैथिली भाषालाई जीवन्त बनाउने अभियानमा अग्रसर हुुनुपर्ने खाँचो औँल्याउनुभयो ।

साहित्यकार हिमांशु चौधरीले कलात्मकहीन सिर्जनाको असन्तुलित चापले आहतर्फ गम्भीर नभई वाह–वाहीको होडमा लाग्ने मनोविज्ञानका कारणस्तरीय र जन मनमा ग्राह्य हुने सिर्जनाको अभाव देखिएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

कोषका अध्यक्ष रामचन्द्र यादवको सभापतित्वमा भएको सो समारोहमा सदस्य सचिव नवीनकुमार मिश्रले कोषको अक्षयकोषको रकममा वृद्धिका लागि प्रदेश सरकारसँग आग्रह गर्नुभयो भने पुरस्कृत गायिका साह र सखी बहिनपा समूहका पुनम झा, भारती चौधरी, अरूणा मिश्र, सुनिता मिश्र र पुनम मिश्रले विद्यापति गीत प्रसतुत गर्नुभयो ।