दक्षिणी भारतमा तापलहर (लु) का कारण १६ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार जनाएका छन्। देशका विभिन्न भागमा फैलिएको तीव्र ‘लु’पछि स्वास्थ्य सतर्कता जारी गरिएको छ।
भारतमा गर्मी असामान्य कुरा नभए पनि वैज्ञानिक अध्ययनहरूले जलवायु परिवर्तनका कारण ‘लु’हरू पहिलेभन्दा लामो, बढी आवृत्तियुक्त र बढी तीव्र हुँदै गएको देखाएको छ।
एक अर्ब ४० करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली राष्ट्रका विभिन्न सहरमा हालै तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेसँगै जनजीवन प्रभावित बनाएको छ।
दक्षिणी राज्य तेलङ्गानामा सबैभन्दा बढी मृत्यु दर्ता भएको छ। त्यहाँका राजस्वमन्त्री पोङ्गुलेटी श्रीनिवास रेड्डीले जनस्वास्थ्य सुरक्षाका लागि राज्यव्यापी सतर्कता अपनाउन आह्वान गरे।