काठमाडौं, जेठ ९
यातायात र मालपोत कार्यालयमा विगत लामो समयदेखि बिचौलियातन्त्र चलिरहेको छ । यी कार्यालयमा हरेक काम बिचौलियामार्फत हुन्छ । सर्वसाधारण जाँदा काम रोकिन्छ, अड्काइन्छ, बिचौलियामार्फत जाँदा क्षणिकमा काम सकिन्छ । बालेन्द्र साह नेतृत्वको सरकारले यसलाई मध्यनजर गर्दै बिचौलिया र लेखनदासलाई कार्यालयभित्र प्रवेश रोक्न निर्णय गर्यो । सोअनुरुप ती कार्यालयलाई पत्राचार गरियो र निर्णय कार्यान्वयनमा लगियो । तर, यो नौटंकी मात्रै रहेको प्रमाणित भएको छ । सरकारले चर्चा कमाउनका लागि त्यो नाटक रचेको पाइएको छ । एकाध दिन बिचौलिया र लेखनदासलाई गेटबाहिर रोकियो । अहिले त उनीहरु निर्वाध रुपमा कार्यालय छिरिरहेका छन् । सरकारी कागजात बोकेर गेटबाहिर ल्याउने क्रम चलिरहेको छ । यातायातमा पाँच हजारमा हुने कामका लागि बिचौलियाले १५ हजार रुपैयाँ लिइरहेका छन् । त्यति रकम दिएपछि केही घण्टामै त्यो काम सकाइदिन्छन् । अनि कहाँनेर बिचौलिया हट्यो ? नाटक गर्न राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन सरकारलाई कसैले नभ्याउने रहेछ । त्यसो त अहिलेसम्म कति बिचौलिया समातियो ? कति जेल गए ? कुन कुन कार्यालय बिचौलियामुक्त भएको छ ? यसको विवरण बालेन सरकारसँग छ ? नगरपालिकामा पनि बिचौलिया छ । बिचौलियाबिना काम नै हुँदैन । यातायात, मालपोत, अदालत, नगरपालिका, वडामा बिचौलिया छ्याप्छ्याप्ती भेटिन्छन् । अनि कहाँनेर बिचौलिया हट्यो ? आफ्नै निर्णय कार्यान्वयन गर्न सरकार असफल भएको छ । बिचौलियाहरु अहिलेपनि सरकारी कागजात घर लिएर जान्छन् । खोइ त रोक्न नसकेको ? एउटा विज्ञप्ति निकाल्दैमा बिचौलिया रोकिने भए त यो देश कहाँ पुगिसक्थ्यो । हुन त प्रधानमन्त्री साहलाई जनताले कहाँ कहाँ समस्या खेपिरहेका छन् ? देशमा के के भइरहेको छ ? थाहा छैन । प्रधानमन्त्री भएपछि बालेन कतै बोलेका छैनन् । न सदनमै गएका छन् । जनताको आवाज राख्ने थलोमा गएर सांसदको कुरा सुनिदिने र समस्या समाधानको पहल थाल्ने उनको कतव्य हो । तर, उनी सदन र सांसदकै अपमान गरिरहेका छन् ।
यता, उनी कुनै सरकारी कार्यालय पनि गएका छैनन् । सरकारी कार्यालयमा जनताले कति दुःख पाइरहेका छन् ? उनी बेखबर छन् । सदन नजाने, जनताको कुरा नसुन्ने, कतै नदेखिने व्यक्तिलाई देश र जनताको अवस्थाबारे के थाहा ? हुन त उनको यो व्यवहार काठमाडौं महानगरपालिकाको मेयर हुँदै देखिइसकिएको थियो । उनी कामभन्दा पनि विभिन्न कारणले पपुलर भइरहन्थें । जनताले पनि उनी आएपछि देशको मुहार नै कायापलट हुन्छ भन्ठाने । बिचौलिया समातिन्छन्, भ्रष्टाचारीहरु कानुनको दायरामा आउँछन्, सुशासन कायम गर्छन्, रोजगारी दिन्छन्, विकास गर्छन्लगायत जनताका यावत अपेक्षा थियो । तर, भयो के ? सदनमा उभिएर सांसदको प्रश्नको जवाफ दिन नसक्नेले सुशासन कायम गर्न सक्छ ? लेखनदास, बिचौलियाहरु हिजो काँग्रेस, एमाले, माओवादी थिए । अहिले उनीहरु रास्वपा भइसके । अब जनतालाई ठग्न पाइयो । उनीहरु मात्र होइन, सरकारी कर्मचारी, भूपू कर्मचारी, गुण्डा, सहकारी ठग, भूमाफियालगायत जम्मै रास्वपा बनिसके । शक्तिको पछाडि लागेर जोगिनु जो पर्यो । रास्वपामा धेरै ठग, दलालहरु छन् । रास्वपामा जोडिएकाहरु कुनै न कुनै काण्डमा जोडिएका छन् । हिजो अन्य पार्टीमा बसेर लुटे, अहिले तिनै रास्वपा बनेका छन् ।
सर्पले काँचुली फेरेजसरी दलाल र माफियाहरुले पार्टी फेरिरहेको छ । सुशासन कायम गर्ने हो भने पहिले आफ्नो पार्टीबाट गर । शुरुमा आफ्नो पार्टी सफा गर अनि मात्रै अरुमाथि प्रश्न उठाऊ । दलाल, ठग पालेको पार्टीले ठूलो कुरा नगर्दापनि हुन्छ । काँग्रेस, एमाले, माओवादी सकाउने यिनै दलाल हुन् । यो कुरा रास्वपाले बुझोस । नत्र पाँच वर्षपछि पुरानै राजनीतिक दलको हविगत होला । नेपालमा जति पार्टी खुलेका छन्, तिनको उद्धेश्य देश लुट्ने र सकाउने रहेछ । पार्टी ठूलो बनाउनका निम्ति जस्तोपनि व्यक्तिलाई सदस्यता दिइँदैछ । व्यक्तिको विगतजस्तो होस्, पार्टीमा भित्र्याउने । यसले गर्दा देश सकियो । जनता महँगीको मारमा पर्नुपर्यो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपा पहिलो पार्टी बन्यो । रास्वपालाई भोट दिने भारतीय, चिनियाँ, अमेरिकन नागरिक होइनन् । हिजो एमाले, काँग्रेस, माओवादीलाई भोट हाल्नेहरुले नै रास्वपालाई मतदान गरेर जिताएका हुन् । एमाले, काँग्रेस, माओवादीको झोला बोके, फाइदा लिए अनि त्यहाँबाट फाइदा हुन छोडेपछि रास्वपामा आए । अब भनौं सबैभन्दा फटाहा को ? जनता कि नेता ? रास्वपाले पाँच वर्षको म्याण्डेट आएको छ । रास्वपाले के काम गर्छ ? जनता हेरेर बसेका छन् । काम गर्न सकेन भने पुराना दलभन्दा बढी बेजोग रास्वपाको हुन्छ ।
रास्वपाको १८२ सांसदमध्ये कुनैमाथि सरकारी सम्पत्ति कब्जाको आरोप छ । कुनैउपर विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेको छ । सहकारी ठगी, मानव तस्करी, ठगीलगायतको आरोप रास्वपा सांसदहरुमाथि छ । वास्तवमा भन्ने हो भने रास्वपामा चोखो भन्ने व्यक्ति नै भेटिँदैन । एकपछि अर्को गर्दै सांसदहरुको काण्ड बाहिरिरहेको छ । यस्तालाई जनताले भोट दिएर पठाए । अब थकथकाउनुबाहेक केही विकल्प नै छैन । रास्वपाको सरकार बन्नेबित्तिकै दैनिक उपभोग्य सामानको भाउ बढेको छ । मँहगीको भार जनताले खेप्न नसक्ने भइसके । जनताहरु रास्वपालाई बेकारमा भोट दिएछौं भन्न थालिसके । रास्वपा आएपछि के परिवर्तन भयो ? रास्वपाले २०७२ असोज ३ गतेको संविधान मान्छौं भनेको छ ।
प्रदेश र लोकतन्त्र गणतन्त्र मान्ने रास्वपाले जनाएको छ । अनि केचाँहि परिवर्तन भयो ? सबै पुरानै मान्नुपर्ने थियो भने त्यत्रो आन्दोलनको के औचित्य ? पुराना दलले नागरिकलाई विदेशमा बेच्यो, रोजगारी दिएन भनेर रास्वपाले विरोध गर्यो । अहिले त रास्वपाकै सरकार छ, जनता विदेश जानुपर्ने बाध्यताको किन अन्त्य भएन ? अहिले पनि दैनिक तीनदेखि चार हजार नागरिक एअरपोर्टबाट बाहिरिरहेका छन् ।
पुराना दलले निजीकरण गरेको उद्योग सरकारको नाममा फिर्ता ल्याएर पुनः सञ्चालन गर्न सरकार असमर्थ देखिएको छ । सरकार गठन भएको दुई महिना बितिसक्दा देशमा सुधार हुने झिनो आशा पनि देखिएको छैन । के ७७ जनाको योगदान खेर गएकै हो ? सरकारी सम्पत्तिमा भएको क्षति खेर गएकै हो ? भ्रष्टाचार नियन्त्रण, मँहगी नियन्त्रण, सिण्डिकेट तोड्न, सरकारी निकायमा सुधार गर्न, सरकारी जग्गा खोज्न, उद्योग सञ्चालन गर्न सरकार नाकाम भएको छ । आन्दोलनले फाइदा भएको रवि, बालेन र रास्वपाका नेताहरुलाई मात्र हो । रवि जेलबाट निस्किए । अहिले अदालतले अभियोग पनि फिर्ता लियो । बालेन प्रधानमन्त्री भए । त्यो आन्दोलन नभएको सायदै बालेन यति छिटो प्रधानमन्त्री बन्थे होलान् । रास्वपाका नेताहरु सांसद बने । योभन्दा अरु के चाहियो ? यहाँ न हिजो जनताका लागि कुनै आन्दोलन भएको थियो न आज भएको छ ।
सबैले आफ्नो व्यक्तिगत स्वार्थको लागि जनता उचाल्ने हुन् । सडकमा सुरक्षाकर्मीको गोली खुवाएर मार्ने हुन् । अनि सत्तामा पुग्नेचाँहि ती नेता हुन् । गणेशमान सिंहले जनतालाई किन भेडा भनेका रहेछन् ? बल्ल बुझिँदै छ ।
अनुसा थापा
भक्तपुर