काठमाडौं, जेठ ५
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा राहदानी (पासपोर्ट) ओसारपसार गरिरहेको अवस्थामा एक व्यक्ति सुरक्षा निकायको फन्दामा परेका छन् ।
मंगलबार बिहान नेपाल एयरलाइन्सको उडानमार्फत दिल्ली उड्नै लाग्दा सिरहाका अजित श्रेष्ठ ३७ वटा राहदानीसहित पक्राउ परेका हुन् । विमानस्थल सुरक्षा कार्यालयले नियमित जाँचका क्रममा शंकास्पद लागेर खानतलासी गर्दा उनको साथबाट ठूलो संख्यामा राहदानी बरामद गरेको हो ।
सिरहा धनगढीमाई नगरपालिका–१३ का बासिन्दा रहेका श्रेष्ठले ती राहदानीहरू रोमानियाको भिसा लगाउनका लागि भारत लैजान लागेको दाबी गरेका छन् । यद्यपि, यति धेरै संख्यामा राहदानी बोकेर विदेश लैजानका लागि उनले कुनै पनि आधिकारिक निकायबाट स्वीकृति वा अनुमति पत्र लिएका थिएनन् ।
कानुनी प्रक्रिया मिचेर राहदानी संकलन गरी विदेश लैजानुलाई मानव तस्करी वा वैदेशिक रोजगारीका नाममा हुने ठगीसँग जोडेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।