neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८३ को शुभारम्भ

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८३ को शुभारम्भ

May 18th, 2026

काठमाडौं, जेठ ४

नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८३ आज मिति २०८३ ज्येष्ठ ०४ गते बलाधिकृत रथी प्रदिप जंग के.सी. ले समुद्‍घाटन गर्नु भएको छ । १३ वटा इभेन्टमा प्रतिस्पर्धा हुने यस प्रतियोगितामा १३ वटा क्लबका २१८ जना प्रतियोगीहरूको सहभागिता रहेको छ ।

टेनिस खेलको विकासमा सहयोग पुर्‍याउने उद्देश्यका साथ वि.सं. २०७८ बाट सञ्चालन गरिएको यस प्रतियोगितामा खुल्लातर्फ पुरुष एकल र युगल, महिला एकल र युगल, भेट्रान्सतर्फ ३५ वर्ष माथि एकल र युगल, ४५ वर्ष माथि एकल र युगल, ५५ वर्ष माथि एकल र युगल, ६५ वर्षमाथि एकल र युगल तथा ७० वर्ष माथि एकल विधाहरू समावेश गरिएका छन् ।
 
ज्येष्ठ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्‍घाटन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, नेपाल टेनिस संघ, नेपाल ओलम्पिक कमिटी एवम् विभिन्न टेनिस क्लबका पदाधिकारीहरू, नेपाली सेनाका अधिकृतहरू, सञ्चारकर्मीहरू तथा खेलाडीहरूको उपस्थिति रहेको थियो ।