काठमाडौं, बैशाख ३१
आज जङ्गी अड्डामा सञ्चालन भएको ४ दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज मिति २०८३ वैशाख ३१ गते समापन भएको छ ।
समापन समारोहमा जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी श्री राजाराम बस्नेतले अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नुहुने २९ (उनन्तिस) जना सञ्चारकर्मीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो । सोही अवसरमा विगत लामो समयदेखि काठमाण्डौँ तथा आसपासका जिल्लाहरूमा नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने ५ (पाँच) वटा एफ.एम. रेडियो स्टेशनहरूलाई सम्मान स्वरूप कदर पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका दौरान सहभागी सञ्चारकर्मीहरूलाई नेपाली सेनाको विविध विषयमा जानकारी गराउनुका साथै विपद् प्रतिकार्य एवं समसामयिक विषयहरूमा अन्तरक्रिया समेत गराइएको थियो। यस किसिमको कार्यक्रमबाट देशका विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीहरूलाई नेपाली सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता एवं स्पष्टता हुने विश्वास नेपाली सेनाले लिएको छ ।